Logo
Logo

कोरोना असर : लालाबाला च्याँपेर घर फर्किनेहरुको घुइँचो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ बैशाख । ‘दुःखमा जन्मभूमि’ र ‘विपत्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मंगलबार र बुधबार साँझ कलंकी र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ ।
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लो कुटुरोसहित लालाबाला च्याँपेर घर फर्कन घुइँचो गरेको त्यो स्थानमा देखियो । मुलुकका कतिपय स्थानीय तहका जनप्रतिनिधि लकडाउन कारण राजिरोटीको समस्याले बिचल्लीमा परेका आफ्ना नागरिकको उद्धारमा त्यहाँ जुटिरहेको देखिन्थ्यो ।
भक्तपुरको जडीबुटीमा मानिसको ठूलो हुलमा भेटिएका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले लकडाउनका कारण विपद्मा परेका नागरिकलाई उद्धार गरी घर पु¥याउने काममा आफू जुटिरहेको बताए । उनले भने, ‘आज मात्र होइन हिजोदेखि नै हो यहाँ हाम्रा धेरै नागरिक लकडाउनका कारणले विपद्मा परिरहनुभएको थियो । धेरैजसो श्रमिक हुनुहुन्छ । घर जान चाहनेहरुको यो भीड हो । नगरपालिकाबाट उहाँहरुलाई लिन भनेर म यहाँ आएको हुँ ।’
उक्त नगरपालिकाले मंगलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको थियो । विपद्मा परेका त्यस्ता नागरिकलाई नगरपालिकाले आफ्नै खर्चमा घर पु¥याउने व्यवस्था गरेको नगरप्रमुख थापामगरले जानकारी दिए ।
लकडाउनका कारण रोजिरोटी गुमेर काठमाडौँ उपत्यकामा बस्ने अवस्था नरहेपछि घर फर्कन चाहनेलाई स्थानीय तहले जन्मथलो लैजाने व्यवस्था गरेका हुन् । स्थानीय तहले त्यस्ता घर फर्केका नागरिकलाई उपलब्ध गराउनुपर्ने राहत र औषधिका लागि तथ्यांकसमेत संकलन गरिरहेको उनले जानकारी दिए ।
स्थानीय तहले त्यसरी घर फर्केका नागरिकलाई आफ्नो बाँझो जमिन खनिखोस्री बालीनाली लगाउन र त्यसकालाई आवश्यक बीउ मलखादको व्यवस्था गरी उत्प्रेरणा जगाउन कामसमेत गर्ने भएका छन् । जडीबुटी क्षेत्रमा त्यसरी घर फर्कन चाहने दोलखा, सिन्धुली, रामेछाप, ओखलढुंगा, सिन्धुपाल्चोकलगायत जिल्लाका यात्रुको भीडलाई व्यवस्थापन गर्न भक्तपुरका प्रहरी प्रमुखको नेतृत्वको सुरक्षा टोलीलाई हम्मेहम्मे परेको देखिन्थ्यो ।
जडीबुटी र कलंकी क्षेत्रमा काठमाडौँ जिल्लाका प्रहरी प्रमुखसहित ठूलो संख्यामा सुरक्षा फौज यात्रुको व्यवस्थापनमा खटिनुभएको थियो । भीडलाई व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्नका लागि अन्योल पैदा नहोस् भनेर प्रहरीले माइकबाट कुन ठाउँका लागि कहाँ बस छुट्दैछ भनेर सूचना दिइरहेका थिए । ती दुवै स्थानमा दशैँको फूलपातीको दिन जस्तै घर फर्कनेको भीड देखिन्थ्यो ।
विपद्मा परेका यस्ता नागरिकलाई घर फर्काउने कार्यमा स्थानीय तहका मात्रै होइन कलंकीमा सांसद टोपबहादुर रायमाझीले समेत सहजीकरण गरिरहेको पाइयो । उद्धार गरी लगेका नागरिकको स्थानीय तहमा कोभिड–१९का सम्बन्धमा सामान्य स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको जानकारी दिइएको छ ।
सिन्धुलीको तीनपाट गाउँपालिकाका उपप्रमुख पदममाया तामाङ पनि लकडाउनमा अलपत्र परेका नागरिकको उद्धारका लागि बुधबार राति अबेरसम्म जडीबुटीमा खटिरहेका थिए । उनले दुई दिनमा झण्डै ८०० को हाराहारीमा घर फर्कन चाहने सर्वसाधारणको व्यवस्थापन गरी पठाएको प्रतिक्रिया दिए । उनले भने, ‘धेरैजसो बालबालिका र आमाहरुको उद्धार गरिएको छ ।’ उद्धार गरिएका सबैको तथ्यांक लिएर संकलन गरिएको राहत वितरण गर्ने स्थानीय तहले व्यवस्था मिलाएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ । घर फर्कनेमा न्यून आएका श्रमिक र विदेशमा कार्यरत श्रमिकका परिवारजन भएको बुझिएको छ ।
लकडाउनका समयमा यथास्थानमा बस्ने र घराबाट बाहिर ननिस्कन भने पनि रोजिरोटीको समस्यामा परेका सर्वसाधारणले साताभन्दा बढी समयको पैदलयात्रामा उत्रिएपछि स्थानीय तहलाई आफ्ना नागरिकलाई व्यवस्थापन गरेर लैजान सरकारले अनुमति दिएको थियो ।
लकडाउनले हजारौँ व्यक्तिलाई जन्मथलो पु¥याएको छ । ठूलो सख्यामा सर्वसाधारण घर फर्किएसँगै खाद्यान्न संकटको सम्भावना भएपनि खेतीपाती लगाउने ठीक समय भएकाले कतिपय बाँझो जमिन खनीखोस्री गरेर बाली लगाउन उपयुक्त अवसर मिल्नेछ ।
कोभिडबाट सिर्जित लकडाउनले घर परिवार सँगै रहेर जन्मथलोमा पुगी स्थानीय उत्पादन बढाउन र विकास निर्माण कार्यमा सहकार्य गर्ने एकखाले वातावरण सिर्जना गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्