Logo
Logo

डलर अभावको संकट आउन लाग्दै


- दृष्टि न्युज/संवाददाता



राष्ट्र बैंकले विदेशमा रोजगारीका लागि जानेहरुलाई विदेशी मुद्रा सतही सुविधा ६० प्रतिशतले घटाएकोछ ।

पहिला विदेशमा रोजगारीका लागि जानेले ५ सय डलर सम्म साटेर लान पाउँथे । तर अहिले २ सय डलर मात्र लान पाउने भएकोछ ।

राष्ट्र बैंकका अधिकारीहरुले विदेशमा रोजगारीका लागि जानेहरुले विदेश पुगेपछि त्यहाँको रोजगारदाताले नै खान वस्न दिने भएकोले २ सय डलर भए पुग्ने वताएको छ । तर वास्तविक कारण भने सरकार संग डलर कम हुन थालेकोले यस्तो कडाइ गरिएको हो ।

निर्यात भन्दा आयात अत्यधिक वढ्नु तथा विदेशवाट आउने विदेशी मुद्रा कम हुन थाल्नुले नेपाल सरकारको ढुकुटीमा विदेशी मुद्राको संचयमा तीब्र कमी आउन थालेकोछ । ०७५ असार मसान्त सम्ममा १० अर्ब ८ करोड विदेशी मुद्रा रहेकोमा मंसीर मसान्त सम्म आउँदा ७ दशमलव ९ प्रतिशत घटेर ९ अर्ब २९ करोडमा झरेकोछ ।

केही दिन अगाडि प्रधानमन्त्रीले संसदमा गर्नु भएको सम्वोधनमा व्यापार निर्यात भन्दा आयात वढेर व्यापार घाटा भएपनि यसले देशको विकासमा सहयोग नै पुगेको वताउनु भएको थियो । तर यथार्थमा व्यापार घाटा वढेकोले विदेशी मुद्राको संचितिमा तीब्र कमी आउन थालेको छ ।

यसले गर्दा आफ्नो रोजगारीका लागि विदेशजाने नेपाली युवाहरुले आपतकालिन स्थितिको लागि भनेर लग्ने ५सय डलरको अति न्युन रकममा पनि सरकारले कडाइ गरी कम सीमा तोकेको छ ।

यस अघि विदेशमा पढ्न वा घुम्न जानेहरुले लान पाउने २५ सय डलरलाई घटाएर १५ सय डलर सीमा कायम गरिएको थियो ।

आयात तीब्र गतिमा वढ्ने र निर्यात त्यो अनुपातमा नवढ्ने हो भने तथा अन्य श्रोतवाट पनि विदेशी मुद्रा नआउने हो भने केही समय पछि नेपालमा विदेशी मुद्राको ठुलो अभाव भई संकट आउन सक्ने देखिन्छ ।

विदेशी मुद्राको तीब्र अभाव रह्यो भने अति आवश्यक औषधी, पेट्रेल र उपभोग्य वस्तुहरुको आयातमा पनि समस्या पर्न जानेछ । यसले नेपाली मुद्रालाई अझ कमजोर वनाउँछ र मूल्यवृद्धि गराउँछ । विदेशी मुद्राको अभाव संकट तीब्र वन्यो भने नेपालमा डलरमा लगानी गर्नेहरु थप हिचकिचाउने हुन्छ । गत वर्ष भन्दा वैदेशिक लगानी आउने क्रम यो आर्थिक वर्षमा २६ प्रतिशतले घटेको छ ।

गत वर्ष एक डलर लगानी गर्नेले एक डलर नाफा कमाउन १०१ नेपाली रुपैया नाफा गरे पुग्दथ्यो भने अहिले एक डलर नाफा कमाउँन ११४ रुपैयाँ नाफा कमाउन पर्दछ । नेपाली रुर्पैयाँ डलरको तुलनामा सस्तो हुने क्रम तीब्र हुँदा उनीहरुले नेपालमा लगानी गर्न हिचकिचाउने हुन्छ ।

विदेशी मुद्रा कम हुँदै गएमा विकास निर्माणका लागि अति आवश्यक सामानहरु विदेशवाट ल्याउन समेत नसक्ने अवस्था श्रृजना हुन सक्दछ । साथै नेपाली रुपैयाँको तीब्र अवमुल्यन हुन थाल्यो भने एक वोरा चामल किन्न पनि एक वोरा नेपाली नोट लान पर्ने स्थिति नआउला भन्न सकिन्न ।

विदेशी मुद्राको संचिति यस्तै गतिमा कमी हुन थाल्ने हो भने अर्थतन्त्रमा अनेकौं गम्भीर समस्या आउने हुन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्