काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्वाचित भएका छन् । बोर्ड अफ डाइरेक्टर्सले मनोनयन दर्ता गर्न दिएको समय मंगलबारसम्म शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा ३५ वर्षीय शाह निर्विरोध निर्वाचित भएका हुन् । भारतीय क्रिकेट बोर्ड भारतीय क्रिकेट बोर्डका (बिसिसिआई) का सचिव समेत रहेका शाहले डिसेम्बर १ देखि आइसिसी अध्यक्षको कार्यकाल सम्हाल्नेछन् ।
आइसिसीको अध्यक्ष हुने सबैभन्दा कान्छा व्यक्ति हुन् । सन् २०२० देखि दुई कार्यकाल आइसिसीको अध्यक्ष रहेका बार्कलेले बोर्डसमक्ष आफु तेस्रोका लागि पदमा नरहने बताएका थिए । शाहले २००९ मा गुजरात प्रदेश क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका हुन् ।
शाह सन् २०१९ को अक्टोबरदेखि बिसिसिआईको सचिव छन् । २०२२ मा उनी आइसिसीको प्रभावशाली फाइनान्स एण्ड कमर्सियल अफेयर्स (एफ एण्ड सीए) कमिटीको सदस्य बनेका थिए । शाह २०२२ मा बिसिसिआईको सचिवमा पुनः निर्वाचित भएका थिए ।