काठमाडौं । काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई महानगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले नगदसहित सम्मान गरेका हुन् ।
त्यस्तै प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित पाराओलम्पिकमा सहभागी नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको यो नै पहिलो पदक हो ।