काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०२४ सोमबारबाट काठमाडौंमा सुरु भएको छ ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा सुरु योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा विश्वका ५ महादेशका नेपाल सहित २२ देशका खेलाडीहरूको सहभागिता रहेको छ । पुरुष-महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने ब्याडमिन्टन संघले जनाएको छ ।
प्रतियोगिताको सोमबार दशरथ रङ्गशालाको कवर्ग हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । सो क्रममा प्रचण्डले अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न देशसँगको सम्बन्ध र भाइचारा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । यस्ता प्रतियोगिताले खेलामा विभिन्न प्रकारका खेल आयोजना हुनसक्ने सन्देश विश्वभर जाने र नेपालको पर्यटन क्षेत्रको विकासमा समेत मद्दत पुग्ने उनले बताए ।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको विकासमा ध्यान केन्द्रित गरेको जिकिर गरे । १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेता, सेमिफाईनलिष्ट र क्वाटरफाईनलिष्टका खेलाडीहरूले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् ।
यस्तै, च्यालेन्जको लगतै १२ गते शुक्रबारदेखि १४ गते आईतबारसम्म योनेक्स सनराईज नेपाल जुनियर अन्तर्राष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ । जसमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाइल्यान्ड, इरान, युनाईटेड अरव ईमिरेट्सका खेलाडीहरूको सहभागिता रहने संघले जनाएको छ ।