Logo
Logo

राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन : जननेता मदन भण्डारी


-पूर्णशोभा चित्रकार


हिजोआज श्रदेय कमरेड स्व. मदन भण्डारीको बारेमा लेख, रचना, भाषण र विभिन्न उद्धृत भनाइहरु सामाजिक सञ्जालमा छाइरहेका छन् । शायद, उहाँको ६८औँ जन्मदिन भएर होला ।

लामो समयको राजनीतिक जीवनमा मैले माधवकुमार नेपाल र जीवराज आश्रितसँग नै काम गरेँ । अरु नेताहरुसँग खास खास बैठक, भेला र पार्टीका अन्य कामको सिलसिलामा मात्र भेट हुने गर्दथ्यो । त्यही सिलसिलामा क. मदन भण्डारीसँग मेरो भेट भएको थियो । २०३९ सालमा पार्टीको सिपी मैनालीसँगको आन्तरिक विवाद चर्केको बेला एउटा बैठक मेरो माइतीघरको ‘न्हूकोठा’मा भएको थियो । त्यहाँ क. मदन भण्डारी पनि आउनु भएको थियो । खानपिनको व्यवस्था पनि त्यही घरमा भएको थियो । त्यो बैठकमा झलनाथ कमरेडले मलाई आज त बेस्सरी जमेर कुराकानी गरिन्छ भन्नुभएको सम्झना छ । त्यो वाक्यले मलाई ‘उपत्यकामा भएको गुटवन्दी’ को सिलसिलामा सिपी मैनालीसँग वादविवादको विषय हुनुपर्दछ भन्ने मैले अन्दाज गरेँ ।

राजालाई पनि राजनीति गर्ने हो भने श्रीपेच फुकालेर मैदानमा उत्रिन चुनौती दिँदै बोल्नुभएको थियो । त्यो भाषण निकै चर्चित बनेको थियो । उहाँ साधारण तथा सादगी जीवन बिताउनु हुन्थ्यो । जनतासँग घुलमिल गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो राजनीतिमा थकावट भन्ने शव्द हुँदैन । हरेक राजनीति गर्ने मान्छेहरु गतिशिल हुनु पर्दछ । उनीहरुले पहलकदमी लिनु पर्दछ र प्रतिस्पर्धा गर्न डराउनु हुन्न ।

२०४१ सालदेखि ०४३ सालसम्म म ललितपूर पार्टी जिल्ला कमिटीको सचिव थिएँ । सचिवको नाताले भूगोलभित्रका पार्टी कमिटीहरु, जनवर्गीय संगठनहरुदेखि लिएर पार्टीका सेल्टरहरु र भूमिगत बैठकहरुको व्यवस्थापन गर्नु पर्दथ्यो । त्यही बीचमा ठैबोमा पार्टी केन्द्रीय कमिटीको बैठक व्यवस्थापन गर्ने जिम्मेवारी पार्टी सचिवको हैसियतले मैले लिनुपरेको थियो । त्यो बेलामा खासखास जिम्मेवारी खासखास व्यक्तिलाई तोकेर दिइन्थ्यो । एउटै कमिटीका सदस्यहरुलाई पनि खास जिम्मेवारीबारे थाहा दिने गरिँदैनथ्यो । एक अर्काका बीच त्यस्ता जिम्मेवारीको सूचना गोप्य राखिन्थ्यो । त्यो बेला पार्टीलाई सुरक्षितरुपले सञ्चालन गर्ने तरिकाहरुमध्ये मुख्य तरिका थियो । मदन भण्डारीलाई भेट्ने मौका त्यो बेला पनि मैले पाएकी थिएँ ।

विसं २०४६ साल भाद्र ९ देखि १४ गते सम्म चलेको तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनको प्रतिनिधिमा मेरो नाम पनि थियो । तर जेठो छोरो बिरामी भैरहने हुनाले मैले महाधिवेशनमा भाग लिन सकिनँ । त्यसकारण त्यो महाधिवेशनमा मदन भण्डारीले कस्तो भूमिका निर्वाह गर्नुभयो भन्नेबारे प्रत्यक्ष अनुभव गर्न पाइन । तर अरु कमरेडहरुले जानकारी दिएअनुसार क. मदन भण्डारीले पञ्चायत विरोधी आन्दोलनमा मिल्न सक्ने जति शक्तिसँग मिलेर जानु पर्दछ भन्ने धारणा राख्नुभएको थियो । नेपाली कांग्रेस पनि तत्कालीन पञ्चायती व्यवस्थासँग विमति राख्ने राजनीतिक पार्टीसँग मिलेर संयुक्त आन्दोलन गर्नु पर्दछ भन्ने अडानमा थियो । पछि पार्टीको त्यही अडानलाई टेकेर २०४६ साल फागुन ७ गते संयुक्त आन्दोलनको घोषणा भयो । बाममोर्चा र नेपाली कांग्रेसको डेढ महिनाको संयुक्त आन्दोलन पश्चात पंचायती व्यवस्था अन्त्य भयो र संबैधानिक राजा सहितको बहुदलीय व्यवस्था स्थापना भयो । जनताले बोल्ने, लेख्ने, सभा संगठन गर्ने राजनीतिक अधिकार प्राप्त गरे । पार्टीहरु खुला भए । त्यो सफलता अहिलेको लोकतान्त्रिक संघीय गणतान्त्रिक व्यवस्था स्थापनाको एक कोशेढुंगा बन्यो । २०६२÷६३ को जनक्रान्तिमा त्यही एकताको सूत्र लागू भयो ।

२०४६ साल चैत्र २६ गते पंचायत व्यवस्थाको अन्त्यसँगै बहुदलीय व्यवस्था स्थापना भइसकेपछि बागबजारमा पार्टी कार्यालय खुल्यो । त्यसको उद्घाटन कार्यक्रममा मैले अखिल नेपाल महिला संघको महासचिवको हैसियतले बोलेकी थिएँ । क. मदन भण्डारीले सभापतिको आसनग्रहण गर्नुभएको थियो । पछिका दिनहरुमा लगातार रुपमा उहाँको भाषणहरु सुन्ने मौका पाएँ ।

२०४७ कार्तिक २२ मा नेपालको संविधान २०४७ जारी भयो । एक साँझ नेपालको संविधान र पार्टीका नीतिका बारेमा त्रिपुरेश्वरको व्लुस्टार होटलमा एउटा अन्तक्र्रिया कार्यक्रम भएको थियो । क. मदन भण्डारीले त्यसबारेमा बोल्नुभएको थियो । सहभागीको रुपमा विभिन्न क्षेत्रका वुद्धिजीवीहरु, पेशाकर्मीहरु, पार्टीका कार्यकर्ताहरु, पत्रकारहरु सहभागी थिए । उहाँको कार्यपत्र प्रस्तुतपछि सहभागीहरुले प्रश्न गरे । उहाँले त्यसको जवाफ पालैसित दिनुभयो । जवाफ दिँदा सन्दर्भसहित तर्क प्रस्तुत गर्नुहुन्थ्यो । कुन किताबको, कति पेजको, कति हरफमा कुन शव्दले के भनेको छ, त्यसको अर्थ के हो भन्नेसम्म पनि प्रष्ट पार्नुहुन्थ्यो । प्रश्नकर्ताहरु समर्थनमा टाउको हल्लाउँथे । चित्त बुझाउँथे । त्यो साँझ म मदन कमरेडको तर्क क्षमता देखेर म धेरै प्रभावित भएकी थिएँ ।

कार्यक्रम ढिलो सकियो । मेरो घर जाने बस छुटिसकेको थियो । मदन कमरेडले ‘तपाई कसरी जानु हुन्छ त’ भनी सोध्नु भयो । मैले आज माईती गएर बस्छु भनें । उहाँले, ‘उसो भए म पुर्याई दिन्छु’ भन्नु भयो । उहाँ साइकलमा आउनुभएको थियो । मेरो कारणले उहाँले साइकल डो¥याउँदै मसँगै हिँड्नुप¥यो । नयाँसडकको जुद्धशम्सेरको शालिक छेउमा पुगेपछि म माइतीतिर लागें । उहाँ आप्mनो बाटो लाग्नुभयो ।

खुला राजनीतिमा आइसकेपछि मदन भण्डारीको अन्तर्वार्ता मिडियामा छाउन थाले । टेलिभिजनमा उहाँको कुरा सुनेर मेरा नातेदारहरुले मलाई भन्ने गर्दथे, ‘तिम्रो नेता त कस्तो जिद्दी । हार्न नजान्ने । जस्तो प्रश्न गरे पनि उत्तर हाजिर । कस्तो तार्किक ।’ म दंग पर्दथे नेता र पार्टीको प्रशंसा पाएकोमा ।

टुँडिखेल लगायतका सभाहरुमा उहाँको भाषण छुटाउन नपरोस भन्ने लाग्दथ्यो मलाई । उहाँको भाषणको बीच बीचमा जनताहरुको तालीको गडगडाहटसँग म पनि उत्साहित हुन्थें । उहाँको भाषणका बोलीहरु प्रष्ट हुन्थ्यो, विपक्षीहरुलाई चोटिलो आलोचना हुने शव्दहरुको छनोट हुन्थ्यो, प्रतिस्पर्धाको लागि ललकारेको हुन्थ्यो, डर र भयरहित हुन्थ्यो । भाषणका पंक्तिहरु समुद्रका छालहरु उर्लिएजस्तो लाग्दथ्यो ।

२०४७ साल पौष २३ गते तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) विचमा पार्टी एकता भएर नेकपा (एमाले) बन्यो । म उपत्यका समन्वय कमिटीको सदस्यको रुपमा पार्टी काममा सक्रिय थिएँ र उक्त कमिटीको बैठकमा केही पटक कमरेड मदन भण्डारीको उपस्थिति रहेको थियो ।

क.मदन भण्डारीसितको थोरै भेटघाट र कुराकानी विच पनि उहाँले मलाई अविस्मरणीय छाप छोडेर जानुभएको छ । मदन भण्डारी नयाँ विचारहरुको सर्जक हुनुहुन्थ्यो । संयुक्त जनआन्दोलन गर्ने सवालमा या पार्टी भूमिगतबाट खुला गर्ने सवालमा होस् या जनताको बहुदलीय जनवादको विचार होस् आदि विचारहरुमा उहाँको भूमिका प्रधान रह्यो । उहाँ वस्तुस्थितिमा आधारित भएर बोल्नुहुन्थ्यो, तर्कवितर्क गर्नुहुन्थ्यो । उहाँ प्रतिस्पर्धामा डराउनु हुन्थेन । उहाँले चावहिल चोकको सभालाई सम्बोधन गर्दै राजालाई पनि राजनीति गर्ने हो भने श्रीपेच फुकालेर मैदानमा उत्रिन चुनौती दिँदै बोल्नुभएको थियो । त्यो भाषण निकै चर्चित बनेको थियो । उहाँ साधारण तथा सादगी जीवन बिताउनु हुन्थ्यो । जनतासँग घुलमिल गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो राजनीतिमा थकावट भन्ने शव्द हुँदैन । हरेक राजनीति गर्ने मान्छेहरु गतिशिल हुनु पर्दछ । उनीहरुले पहलकदमी लिनु पर्दछ र प्रतिस्पर्धा गर्न डराउनु हुन्न ।

विसं २०५० जेठ ३ गते चितवन जिल्लाको दासढुंगाको दुर्घटनामा उहाँ बित्नुभएको पनि २७ वर्ष भइसकेकोछ । उहाँको सम्झनामा वर्षेनी विभिन्न कार्यक्रमहरु हुँदै आएको छ । कतिपय कार्यक्रमहरु औपचारिकतामा सीमित हुँदै गएको छ । ठाँटबाँट, लोकाचार, पनपक्षपनहरु देखिँदै आएको छ । पार्टीलाई यो ठाउँसम्म ल्याउन कसको भूमिका के भन्ने मूल्यांकन भएन । त्यसको ठाउँमा, कसको मान्छे कहाँ भन्ने हुन पुगेको छ । सिद्धान्त, विचार, विधि विधान गौण भएको छ । मदन भण्डारीको हौवा दिएर गुटहरु सिर्जना गर्ने, विपक्षी विचारहरुलाई दबाउने, सेवा र सुविधाहरुमा एकलौटी गर्ने लगायतका कार्यहरु भैरहेछ भन्ने गुनासाहरुको संख्या पनि कम छैनन् । यस्तो विचार तथा व्यवहारहरुले पार्टी, जनता र देशको लागि कतिको अहित गर्न सक्छ भन्ने विषयमा पार्टीले मूल्यांकन गर्न ढिलो भइसकेकोछ ।

अन्त्यमा, मदन भण्डारीलाई सम्झनु र सम्मान गर्नु भनेको उहाँको राम्रा कामलाई सम्झनु, उहाँले छोडेर जानु भएको जिम्मेवारीलाई पूरा गर्नु र उहाँका आदर्शहरुलाई पछ्याउनु हो । आशा गरौं आउँदा दिनहरुमा पार्टीले दृढ अठोटकासाथ यी कुराहरु पालना गर्नेछ, भबिष्यका दिनहरुका पार्टी अझै सुदृढ बन्नेछ । पार्टी र पार्टीले नेतृत्व गरेको सरकार जनताका ईच्छा तथा आकांक्षाहरु संम्वोधन गर्न र हालैको कोरोनाको महामामारीबाट जनतालाई बचाउन पार्टी र पार्टीले नेतृत्व गरेको सरकार सक्षम हुनेछ भन्ने आशा गरौं । कमरेड मदन भण्डारीप्रति हार्दिक श्रद्धाञ्जलि ।

प्रतिक्रिया दिनुहोस्