काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ । समितिले एक वक्तव्य जारी गर्दै देशभरका सबै जिल्ला र प्रवासमा संयुक्त आन्दोलन परिचालन समिति विस्तार गर्ने जनाएको हो ।

समितिका प्रवक्ता स्वागत नेपालका अनुसार आन्दोलन अझै सशक्त बनाउन देशैभर समिति गठन गरेर आन्दोलनलाई सभ्य रुपमा अघि बढाउने भएको हो ।
अहिले औपचारिकरुपमा आन्दोलन नै सुरु नभएको बताउँदै उनले चरणबद्ध कार्यक्रम घोषणा गर्ने बताएका छन् । जसअनुसार प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आमहड्तालका कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।
राजावादीहरूले यसअघि यही चैत १५ गते तीनकुनेमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनले हिंसात्मक रुप लिंदा २ जनाको मृत्यु भएको थियो ।











