
काठमाडौं । विगत केही दिनयता काठमाडौं उपत्यकाको वायु प्रदूषण निकै खराब अवस्थामा देखिएको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार विश्वकै वायु प्रदूषणको खराब स्थितिमा काठमाडौं आज पनि पहिलो नम्बरमा रहेको छ ।
यहाँको एयर क्लालिटी इन्डेक्स २४१ छ । यो भनेको अति खतरनाक अवस्था हो । एक्यूआई १५० भन्दामाथि जानु नै खराब मानिन्छ । लामो समयदेखि पानी नपर्नु तथा काठमाडौं लगायत विभिन्न ठाउँमा लागजनीका घटना भइरहनुले काठमाडौं लगायत देशभर वायु प्रदूषण बढेको छ ।
जसकारण अहिले वायुको अवस्था निकै विषालु रहेको छ । वायु प्रदूषण खराब स्थितिमा पुग्दा आँखा पोल्नेलगायतका समस्या देखिन थालेका छन् ।
त्यस्तै श्वासप्रश्वास, छाला तथा अन्य दीर्घ रोगीहरूलाई पनि यसले समस्या पार्ने चिकित्सकहरूले बताउँदै आएका छन् । सरकारले पनि वायु प्रदूषण बढेसँगै कार्यालयका कामहरु सकेसम्म घरबाटै गर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।














