Logo
Logo

राजावादीको हुलदंगामा भएको क्षतिमा ५ करोडको बिमा दाबी


693
Shares

काठमाडौं । चैत १५ मा राजावादीहरुको अराजक प्रदर्शनका क्रममा भएको क्षतिमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबर बिमा दाबी परेको छ । बुधबारसम्म ४३ वटा बिमा दाबीमार्फत उल्लेखित रकम बराबर बिमा दाबी परेको हो ।

दाबी आउनेक्रम जारी रहेकाले अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ । हालसम्म परेको दाबीअनुसार २२ वटा निजी गाडी, १६ वटा घर तथा व्यवसाय (सम्पत्ति), ३ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम र अन्य २ वटा गरी कुल ४३ वटा दाबी परेको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ । १६ वटा आवेदनमा ३ करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको दाबी परेको हो । यस्तै, मोटर बिमामा १ करोड २९ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका ३ दाबीमा ३७ लाख र विविधमा १० लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । परेका दाबीमध्ये बुधबारसम्म ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको पनि प्राधिकरणले जनाएको छ । शिखर इन्स्योरेन्सले उक्त दाबी भुक्तानी गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदंगाका कारण बिमितको धनसम्पत्तिमा भएको क्षतिबाट परेको बिमा दाबी छिटो फछ्र्योट गर्न नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ ।

चैत १५ मा भएको हुलदंगाका कारण भएको क्षतिको विवरण ‘एक्सेल स्प्रिड सिट’ ढाँचामा साप्ताहिक रूपमा प्रत्येक साताको बुधबार प्राधिकरणमा पेस गर्न पनि सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।

राजावादी प्रदर्शनकारीले गत शुक्रबार तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड र आगजनीबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ । अझै क्षतिको यकिन विवरण आइनसकेको गृह मन्त्रालयले स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्