काठमाडौं । थाइल्यान्ड भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई शान्तिपूर्ण संवादको आग्रह गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले शिक्षकहरूको माग ध्यानपूर्वक सुन्ने बताउँदै धेरै दुःख नपाउन आग्रह गरे।

‘सरकार र शिक्षकहरूबिच विरोध होइन, हामी एउटै हौँ,’प्रधानमन्त्री ओलीले भने, ‘के गर्न सकिन्छ भन्ने कुरा कुराकानीमार्फत टुंगिन्छ।’
देशभर शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत छन्। शनिवार पनि उनीहरूले नयाँ बानेश्वरदेखि माइतीघरसम्म प्रदर्शन गरेका थिए।
यस सन्दर्भमा ओलीले अघिल्ला सरकारले ध्यान नदिएको भए पनि अहिलेको सरकारले शिक्षकहरूको कुरा सुन्ने भरोसा दिलाए। ‘उहाँहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभएको हो,’ उनले भने, ‘पहिले त आवाज उठाउँदा सुन्दैनथे, अहिले सरकार सुन्छ भन्ने लागेर आन्दोलनमा आउनुभएको हो।’ प्रधानमन्त्रीले शिक्षकहरूको समस्या चाँडै समाधान हुने र उनीहरू शिक्षणमा फर्कने विश्वास पनि व्यक्त गरे।














