Logo
Logo

जनमत-नाउपा एकता वार्ता : बर्दियामा के हुँदैछ ?


1k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति र जनमत पार्टी एकीकरणमा सहमति जुटाउन दुई दलको बैठक बर्दियामा जारी छ । जारी बैठकले एकताको सहमति गर्ने दुई दलका नेताहरुले बताएका छन् ।

आइतबार बिहान सुरु भएको बैठकमा दुई दलका कार्यदले बनाएको खाकाको आधारमा जनमतका अध्यक्ष डा. सीके राउत, नाउपाका संरक्षक रेशम चौधरीले एकताको टुंगो लगाउन अहिले छलफल गरिरहेका छन् । नाउपाले तय गरेको स्थानमा बैठक बस्नेगरी जनमतका नेताहरु बर्दिया पुगेका हुन् । कार्यदलको बैठक जारी रहेको जनमतका प्रवक्ता एवं कार्यदलका सदस्य डा. शरदसिंह यादवले जानकारी गराए ।

एकतापछिको पार्टी अध्यक्ष डा. राउत, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी हुनेगरी एउटा विकल्पमा छलफल भएको छ । साथै, दुई अध्यक्ष प्रणाली रहनेगरी पनि विकल्पमा छलफल भएको दुई दलका नेताहरुले बताएका छन् ।

दुई अध्यक्ष प्रणालीमा पहिलो बरियतामा कार्यकारी अधिकारसहित राउत हुने र दोस्रो वरियतामा श्रेष्ठ हुनेगरी छलफल भएको छ । श्रेष्ठ हाल नाउपा अध्यक्ष छन् भने चौधरी उक्त दलको संरक्षक छिन् ।

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने र चुनाव चिह्न ‘ढकिया’ राख्नेगरी नेताहरु सहमतिउन्मुख रहेको नेताहरुको भनाइ छ । नाउपाको चुनाव चिह्न ढकिया राख्न जनमत सहमत भएको छ ।

एकताका लागि जनमतबाट अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल बनाइएको छ भने नाउपाले गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल गठन गरेको छ । कार्यदलको आज बसिरहेको बैठक दोस्रोपटक हो । जनमतका अध्यक्ष राउत र नाउपा संरक्षक चौधरीले सहमतिका अधिकांश विषय टुंगो लगाइसकेको नेताहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्