काठमाडौं । नेपाल मेडिकल कलेज, जोरपाटीका आवासीय चिकित्सकहरू न्यूनतम तलब नपाएको र चरम श्रम शोषण भइरहेको भन्दै शनिवार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’, र ‘आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे।
सरकारले पारित गरेको न्यूनतम तलब ४८ हजार रुपैयाँ रहे पनि कलेजले उनीहरूलाई जम्मा १९ हजार ५०० मात्र दिइरहेको छ । चिकित्सकहरूले आफुहरुले दिनको १२-१४ घण्टा काम गर्ने गरेको, तर त्यसको मूल्य पाएका बताएका छन् ।
उनीहरूको भनाइ अनुसार सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको तलब संरचना लागू नगरी कलेज प्रशासनले न्यूनतम तलबभन्दा धेरै कम दिएर श्रम शोषण गर्दै आएको छ। चिकित्सकहरूले सरकारसँग अविलम्ब न्यूनतम तलब कार्यान्वयन गर्न र स्वास्थ्य शिक्षा क्षेत्रमा भएको चरम व्यापारीकरण नियन्त्रण गर्न माग गरेका छन्।














