काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गते तीनकुनेमा भएको घटनामा (आगलागीमा परी) ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्।

आइतबार दिउँसो सभापति देउवा रजकको डल्लुस्थित निवासमा पुगेर शोक सन्तप्त परिवारजनसँग भेट गरेका हुन्। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङ गरिरहेका रजकको शव त्यहाँस्थित एक निजी घरमा जलेको अवस्थामा फेला परेको थियो।
भेटका क्रममा देउवाले घटनाको सत्य तथ्य छानबिन गर्न तथा दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको भन्दै परिवारलाई आवश्यक न्याय सुनिश्चित गरिने आश्वासन दिएका छन्।
घटना घटेको साता बित्दा पनि सरकारले छानबिनका लागि आवश्यक कदम नचाले भन्दै सरकारको व्यापक आलोचना पनि भइरहेको छ । तीनकुने घटनामा राज्य पक्षको कमजोरी रहेको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।














