काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर हेरेर नबसेको बताएका छन् । मङ्गलवार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए ।

यसको जवाफमा शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन ।’ उनले अगाडि थपेका छन्, ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।’
महानगर प्रमुख शाहले सडक सफा गरेकोमा राप्रपालाई धन्यवाद दिँदै लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले भनेका थिए, ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए,‘हाम्रा साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु ।’














