काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि सबै मन्त्री र सचिवहरूसँग आज छलफल गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो साढे ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चालु योजनाहरूको प्रगतिबारे जानकारी लिँदै आगामी नीति, कार्यक्रम र बजेटका प्राथमिकताबारे सुझाव लिन छलफल गर्न लागेको जनाइएको छ ।
संविधानअनुसार सरकारले आगामी आर्थिक वर्षको पूर्ण बजेट जेठ १५ गते संसद्मा पेस गर्नुपर्ने प्रावधान छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिनेछ, जसलाई प्रायः मिनी बजेटको रूपमा लिइन्छ ।














