काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य, महासङ्घको ५५ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस–२०८१ लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।

प्रधानमन्त्री अेलीले भने, ‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन । अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो । स्थिरता र स्थायित्व भनेको जकडिएको स्थिरता र स्थायित्व होइन । गतिशील स्थिरता र स्थायित्व हो ।’
उनले छिनछिनमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘सरकार र सरकारका नीतिहरू छिनछिनमा अनप्रेडिक्टेबल ढङ्गले बदलिने, एउटा सरकारको ठाउँमा अर्को तुरुन्तै बदलिने, अघिल्लो सरकारले लाएको राम्रो कुरा पनि उसले उच्चारण समेत गर्न हुँदैन भनेजस्तो गर्ने हुँदैन । ’














