काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई सडक प्रदर्शनमा भन्दा सरकारको काममा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । नेपालगन्जमा आयोजित नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारको गति र प्रदर्शन सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्री ओलीको समय शिक्षक आन्दोलनको समाधानमा लाग्नुपर्नेमा, सार्वजनिक कार्यक्रमहरूमा बढी देखिएको भन्दै आलोचना गरे । ‘ प्रधानमन्त्रीज्यूको समय आन्दोलनको समाधानमा खर्चिनुपर्ने हो, तर उहाँ सडक प्रदर्शनमा केन्द्रित हुनुभयो,’ उनले भने।
शर्माले लोकतन्त्रमा राजनीतिक दलहरूले प्रदर्शन गर्नु स्वाभाविक भएको बताए । प्रधानमन्त्रीलाई अपिल गर्दै उनले भने, ‘सडक प्रदर्शन दलहरूले गर्छन्, तपाईँ सरकार चलाउनुहोस् । सरकारको काम दोब्बर रूपमा अघि बढाउनुहोस्, तब जनताको गणतन्त्रप्रतिको भरोसा पनि दोब्बर हुनेछ।’














