Logo
Logo

यी ६ महिलाको अन्तरिक्ष यात्रा : ११ मिनेटको यात्रामा को को सहभागी छन् ?


504
Shares

काठमाडौं । हलिउडकी चर्चित पप गायिका केटी पेरी, पत्रकार, वैज्ञानिक र फिल्म निर्मातालगायत विभिन्न क्षेत्रका ६ जना महिलाको समूह आज (सोमबार) अन्तरिक्ष यात्रामा निस्कँदैछन् । यी महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ‘न्यू शेपर्ड रकेट’मार्फत अन्तरिक्षमा पठाउने लागेको हो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार महिलाहरूको यी टोलीले अन्तरिक्षमा यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

अहिलेको अन्तरिक्षमा यात्रा टोलीमा पप गायिका केटी पेरीका आलवा पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्वनासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिन रहेको वासिंगटन पोष्टले उल्लेख गरेको छ । साथै, यो टोलीमा लरेन सान्चेज पनि सामेल छिन्, जसले समूहको नेतृत्व गर्नेछिन् । यी सबै महिलाहरूले पृथ्वी र अन्तरिक्ष बिचको काल्पनिक सीमा, कर्मन रेखा पार गर्नेछन् जुन पृथ्वीको वायुमण्डलबाट धेरै टाढा छ ।

यी महिलाले न्यू शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटमा यात्रा गर्नेछन् । समाचारमा उल्लेख भएअनुसार यो अन्तरिक्षयान पूर्ण रूपमा स्वचालित हुनेछ अर्थात यसलाई भित्र कसैले सञ्चालन गर्नु पदैन ।

उनीहरुको यात्रा लगभग ११ मिनेटको हुने बताइएको छ । यी सबै महिलाहरूले अन्तरिक्षबाट पृथ्वीको शानदार दृश्यको आनन्द लिनेछन् र त्यसपछि पृथ्वीतर्फ आफ्नो फिर्ती यात्रा सुरु गर्नेछन् ।

न्यू शेपर्ड रकेट आज अपरान्ह अमेरिकाको पश्चिम टेक्सासमा रहेको कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिनेछ । ‘यो केवल अन्तरिक्ष अभियान मात्र होइन’ ब्लू ओरिजिनले एक विज्ञप्तिमा भनेको छ, ‘यो मानिसहरूको मानसिकता परिवर्तन गर्ने र भावी पुस्तालाई प्रेरित गर्ने अभियान हो ।’

प्रतिक्रिया दिनुहोस्