काठमाडौं । सशस्त्र प्रहरी नियमावली नै संशोधन गर्न लागिपरेका सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रकाश गौतम उर्फ सीपी गौतम अन्नतः आजबाट (वैशाख ३ गतेबाट) अनिवार्य अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनी आजबाट अनिवार्य अवकाशमा गएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध रहेको भन्दै आइतबार साँझसम्म नियमावली परिवर्तन गर्न दौडधुप गरेका एआइजी गौतम विगत एक महिनादेखिनै मुख्यालयमा हाजिर गरेर बाहिरिने गरेका थिए । तर कुनै एक व्यक्तिका लागि नियमावली परिवर्तन नहुने भन्दै गृहमन्त्रीले नमानेपछि उनी घर जान बाध्य भएका हुन् ।
उनको अवकाशसँगै सशस्त्र प्रहरीमा एक एआइजी रिक्त हुन लागेपछि तीन डिआइजीको बढुवा प्रतिस्पर्धा शुरु भएको छ । सो पदमा डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङबीच प्रतिस्पर्धा शुरु भएको हो ।
गत पुसमा मात्रै म्याद थप भएका तीन डिआइजीले आफूहरु एआइजीको दावेदार रहेको बताएका छन् । सशस्त्र प्रहरीमा चार जना डिआइजी (प्रहरी नायब महानिरीक्षक) हरू जागिरको अवधि २५ वर्ष पूरा नहुँदै अवकाशको मुखमा पुगेका उनीहरूको म्याद थप भएपछि एआइजीमा दावी गरेका हुन् ।
सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सरकारले एक वर्ष पदावधि थप गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान अनुसार म्याद थप भएको थियो । गौतमको यही २०८२ वैशाख २ गते मंगलबारबाट अनिवार्य अवकाश हुँदैछ ।
प्रहरी कितावखानाले उनलाई एक महिना अघि नै अवकाशको जानकारी दिइसकेको थियो । उनी मंगलबारबाट सशस्त्रबाट अनिवार्य अवकाशमा जाने भएपछि एक महिना अघि नै अवकाशको पत्र दिएको हो । नेपाली सेनाबाट सशस्त्रमा आएका र माथिल्लो दर्जामा रहेका एक मात्र गौतम अवकाशमा गएपछि अब तल्लो दर्जामा ६ जना बाँकी रहेका छन् ।
यसपछि २०५६ असार ३ गते नेपाल प्रहरीमा भर्ना भएका टोली मध्येबाट एआइजी हुनेछन् । डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए । डिआइजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन् । रोगले थलिएका सुवेदी अहिले पुर्व क्षेत्रको कमाण्डमा छन् । औषधि उपचारका लागि भन्दै पूर्वमा उनले जिल्ला कमाण्डरलाई थर्र्काएर अनाधिकृत आर्थिक लाभ लिएको गुनासो सशस्त्र प्रहरी मूख्यालयमा परेपनि मूख्यालय मौन रहेको छ ।
सशस्त्र प्रहरी बल स्थापना भएपछि चारैजना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । मुलुक द्वन्द्वकालमा हुँदा उनीहरूकै टोलीले विभिन्न परिस्थितिको सामना गरेको थियो । डिआइजी गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशका प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशका प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोसी प्रदेशका प्रमुख छन् ।