काठमाडौं । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसम्बन्धी घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद डा। धवल शमशेर राणाको सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको छ । उनीहरूलाई मङ्गलवार पुनः सरकारी वकिल कार्यालयमा उपस्थित गराएर सोधपुछ गरिएको हो ।

दुवै नेतामाथि मुलुकी अपराध संहिता ऐन, २०७४ अन्तर्गत राजद्रोह र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । संहिताको दफा ५० मा उल्लेख भएअनुसार, सरकार वा संवैधानिक संरचना पल्टाउने नियतले हिंसात्मक गतिविधि गरेमा २५ वर्षसम्म कैद सजाय हुन सक्छ ।
मिश्र र राणासहित ४१ जनालाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ । उनीहरू राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रदर्शनमा सहभागी थिए, जसको नेतृत्व दुर्गा प्रसाईँले गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीद्वारा उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी छ ।