काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिमा निष्ठा, मूल्यमान्यताभन्दा सम्पत्तिको मोह हाबी भएको बताएका छन् ।

कांग्रेस नेता चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै उनले एकले अर्कालाई निषेधको राजनीतिक त्याग्नुपर्ने बताए । ‘अहिले विभिन्न ढंगले प्रतिगामी शक्तिहरू सलबलाउन खोजेका छन् । विभाजन ल्याउन खोजेका छन् । जटिल खालको भूराजनीतिक छ’ उनले भने, ‘यस्तो अवस्थामा दलगत चिन्ताभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्य मान्यतामा दृढ रहेर सहकार्य गर्दै अगाडि बढौँ ।’
डा भट्टराईले आफू अलिअलि कांग्रेस, अलिअलि कम्युनिष्ट र दुईटैभन्दा अगाडि विचार बोक्ने नयाँ मान्छे भएको बताए ।
‘०७४ सालको निर्वाचनमा म कम्युनिष्ट पार्टी छाडेर नयाँ शक्तिको अभियानमा थिएँ, शेरबहादुरजी पनि यहाँ हुनुहुन्छ, उहाँकै अडान हो मिलेर जानुपर्छ भन्ने, बोलेसी पक्का अडान लिने मान्छे उहाँ हो, उहाँको बोलेसी पूरा गर्ने अडानको म जहिले पनि प्रशंसा गर्छु’ उनले भने, ‘त्यसपछि म नै साझा उम्मेदवार बनेर मामा कहाँ भोट माग्न गएँ (चन्द्रप्रकाश न्यौपाने) मामाले भान्जालाई दक्षिणाचाहिँ म दिनसक्छु तर भोटचाहिँ कांग्रेसबाहेक अरूलाई दिन सक्दिन भन्नुभयो, मैले पनि हस् भनेर फर्किएको थिएँ ।’














