Logo
Logo

आसाममा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ प्रभावित


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, ६ साउन (एजेन्सी) । भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ ।
राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ । यहाँ मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।
उक्त विभागले दिएको जानकारीमा यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अरु २६ जना पहिरोमा परी मृत्यु भएको छ । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।
आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर बाढी निरन्तर रहेकोले यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन ।
ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि रहेको बताइएको छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ । राज्यमा सयौँको संख्यामा शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ । ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् ।
यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्