
काठमाडौं । रौतहटको गौर नगरपालिका–४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक किशोरलाई निर्मम यातना दिएको भिडिओ सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको ४१ सेकेन्डको भिडिआोमा एक किशोरलाई तीन जनाले समातेर भुईमा लडाएर एक जनाले पाइप जस्तो देखिने सेतो वस्तुले खुट्टाको पैतालामा निर्ममतापूर्वक कुटिरहेको देखिन्छ ।
कुट्दा ती युवकको चिच्याहटको आवाज नआओस् भनेर पृष्ठभूमिमा साउण्ड (डिजे) बजाइएको छ । सार्वजनिक भएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै धेरैले ‘अविलम्ब प्रहरीलाई एक्सन लिन’ माग गरेका छन् ।
सार्वजनिक भिडिओबारे प्रहरीमा जानकारी आएपछि उक्त घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले बताए । सुधाार केन्द्र सञ्चालकलाई समेत बोलाइएर अनुसन्धान अघि बढाइएको उनको भनाई छ ।














