
काठमाडौं । नेकपा एमालेका सांसद हेमराज राईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ घटनाले कानुनी शासनको खिल्लि उडाएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रेशम पक्राउ घटनाले कानुनी राज्यको खिल्लि उडाएको बताएका हुन् ।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । तर, एकीकरण घोषणा हुनैलाग्दा प्रज्ञा भवनबाट रेशम पक्राउ परेका थिए । सर्वोच्च अदालतले उनिविरुद्धको पक्राउ पुर्जी फर्जी रहेको भन्दै डिल्लीबजार कारागारलाई पत्र काटेपछि ५ घण्टापछि रेशम रिहा भएका थिए ।
‘नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीमाथि गैरकानुनी ढंगले पक्राउ गर्ने र पाँच/पाँच घण्टासम्म कारागारमा राख्ने कामले यो देशको कानुनी राज्य र सुशासनको खिल्ली उडाएको छ’,सांसद राईले भने । साथै उनले यो घटना वा प्रकरणका संलग्न व्यक्तिमाथि छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।