
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने भन्दै प्रश्न गरे ।
उनले भने, ‘प्रधानमन्त्रीको नैतिकतामाथि उठेको प्रश्नको जवाफ म यस सम्मानित सदनमा सोध्न चाहन्छु– तपाईं आफू र आफ्नो मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्नुहुन्छ ?’
सुशासन र पारदर्शिताको खोक्रो नारा दिने प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा बनाएको सुशासन आयोगले कस्तो सुशासन दिन्छ भनेर हामीले परिकल्पना गर्ने ? भन्दै प्रश्न गरे ।
‘वैशाखको दोस्रो हप्ता म मेरो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै गर्दा अधिकांश कांग्रेस–एमालेलाई भोट दिने जनताको एउटै प्रश्न सोधिदिन मलाई आग्रह गर्नुभएको थियो । सुशासन र पारदर्शिताको खोक्रो नारा दिने हाम्रा प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन भने उहाँले आफ्नो नेतृत्वमा बनाएको सुशासन आयोगले कस्तो सुशासन दिन्छ भनेर हामीले परिकल्पना गर्ने ?,” पराजुलीले प्रश्न गरे ।
सुशासन ऐनले सार्वजनिक पदमा बसेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, वर्तमान मन्त्रिपरिषद्का कुनै पनि सदस्यको हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।