पुष्पलाल र गणेशमानका अन्तरकथा


Published On : 28 July, 2020

  • माथवरसिंह बस्नेत

गणेशमान सिंह र पुष्पलाल श्रेष्ठ, एक समय काठमाडौंका जनताका नजरमा दुई अनमोल रतन थिए । तर राजनीतिक विचारका दृष्टिले एक कांग्रेस र अर्का कम्युनिष्टका नेता भएकाले एक अर्काका जानी दुश्मन पनि थिए । त्यस प्रकार एक अर्काको खोइरो खनेर कहिलै नथाक्ने उनीहरुको व्यक्तिगत सम्वन्ध भने आश्चर्यजनक ढंगको आत्मीय र साख्यभावको थियो । उनीहरुको त्यस्तो नङमासुको सम्वन्ध देख्नेहरुलाई पत्याउनै मुस्किल पथ्र्यो । पुष्पलाल मञ्चबाट गर्ने भाषणमा गणेमान सिंहलाई आरोप लगाउँदा हद र सीमाको हेक्का राख्दैनथे भने, गणेशमान पनि शिष्टता र मर्यादा नाघेर आलोचना गर्नुलाई आफ्नो एकाधिकार ठान्थे । त्यसको ठीक विपरीत जब उनीहरु दुवैको भेट र वार्ता हुन्थ्यो, त्यस्ता अवसरमा उनीहरुले एक आपसमा प्रयोग गर्ने शिष्टता र विनम्रताका भाषा र शब्दले अद्भुत नजारा प्रस्तुत हुन्थ्यो । दुवैका आगो ओकल्ने भाषण सुनेका जो कसैलाई आफ्नै आँखाले देखेका त्यस्ता दृष्य पत्याई नसक्नु हुन्थ्यो ।

कुनै समय दुई दर्जनभन्दा केही बढी समूहमा विभाजित कम्युनिष्ट पार्टीका विभिन्न समूहका नेताहरु आफूलाई उग्र क्रान्तिकारी देखाउन कामरेड पुष्पलाललाई ‘गद्धार’ भन्न बाँकी राखेका थिएनन्, तर गणेशमान सिंहले कांग्रेस र कम्युनिष्टलाई मिलाएर २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल तुल्याएर पञ्चायत व्यवस्थाको अन्त्य गरे । संसदीय प्रजातन्त्रको पुनस्र्थापना मात्र गरेका होइनन्, उनलाई त्यस्ता आरोपका कलंकबाट उद्धार पनि गरिदिएका थिए । उनको त्यस्तो सत्प्रयासले शहीद गंगालाल र कमरेड पुष्पलाल दुवैको सपना, एकसाथ साकार हुन पुगेको थियो । यो दोहो¥याइरहन नपर्ला कि त्यसपछि नेपालमा जति परिवर्तन भएका छन्, सबै त्यही जगमा उभिएर भएका हुन् ।

वास्तवमा उनीहरुका बीचको सम्वन्ध साख्यै दाजुभाइको भन्दा धेरै प्रगाढ तथा आत्मीय थियो । पुष्पलाल शहीद गंगालालका भाइ थिए । गंगालाल र गणेशमान दुवैले मिलेर महिनौं लगाएर प्रजापरिषद् आफैंले खोजेर पत्ता लगाएका थिए र दुवैले धर्मभक्त माथेमाका हातबाट एकसाथ त्यो पार्टीको सदस्यता ग्रहण गरेका थिए । उनीहरु बीचको सम्वन्ध पनि बडो विचित्र तरीकाले जोडिन पुगेको थियो । तिनताका गणेशमान, कलकत्ताको विद्यासागर कलेजमा आइएस्सी दोश्रो वर्षमा अध्ययन गरिरहेका थिए । त्यसै बेला काठमाडौंमा चतुर्मासाको पुराणमा शुक्रराज शास्त्रीको कथावाचन अत्यन्त लोकप्रिय थियो । विभिन्न टोलमा हुने त्यस्ता पुराण सुन्न टाढाटाढादेखि मानिसहरु जम्मा हुन्थे । कथा सकिएपछि शुक्रराजले गंगालाललाई भाषण गर्न लगाउँथे । उनी श्रोताहरुलाई जुरुक्क उचाल्नेगरि भाषण गर्ने कलामा निपूर्ण थिए । राणा शासनका विरुद्ध जनचेतना जगाउन त्यसरी पुराण सुन्न आएका श्रोतासमक्ष भाषण गर्न लगाउने समझदारीका आधारमा त्यो काम हुने गरेको थियो । परिणाम यो भयो कि शुक्रराजको कथावाचन र गंगालालको भाषणको तारिफ उपत्यकाको तीन शहरमा मात्र होइन, नेपालको सीमा नाघेर कलकत्ता, वनारस र दार्जीलिङसम्म पनि फैलियो । उनको भाषणको त्यस्तो प्रशंसा कलकत्तामा गणेशमानले सुनेपछि उनलाई औडाहा हुनथाल्यो । गंगालालको नाम अपाच्य हुनुको कारणचाहिँ अरु केही थिएन, उनीभित्रको आत्मश्लाघा थियो । उनलाई त्यस्तो तारिफ र प्रशंसा आफ्नो हुनुपर्ने ठाउँमा गंगालालले अवसर छोपेको समाचार असैह्य थियो । त्यही नकारात्मक सोचले उनलाई काठमाडौं आउन प्रेरित गरेको थियो । काठमाडौँ आएपछि पनि उनले गंगालाललाई होच्याउन र बदनाम तुल्याउन कुनै कसर बाँकी राखेनन् । उनको त्यस्ता क्रियाकलापबाट असंतुष्ट हुनेमा हरिकृष्ण श्रेष्ठ प्रमुख थिए । उनले गंगालाल र गणेशमानलाई मिलाउन आफ्नो घरमा खाना खान बोलाउँथे । त्यही रातको एउटा घटनाले गंगालाल र गणेशमानको सम्वन्ध यति निकट र घनिष्ट तुल्यायो कि उनीहरु दुवैजना एक अर्काका लागि ज्यान दिन तयार भए ।

त्यो घटना थियो, रातको दुई बजे बसन्तपुर चोक बढारिरहेकी तरुनी महिला मेहत्तरका प्रसंगमा उनीहरुका बीचमा भएको बादबिबाद । भेट भएदेखि नै गणेशमान गंगालालप्रति आक्रमक थिए र निरन्तर उनलाई होच्याउने ब्यंगवाण प्रहार गरेर थाकिरहेका थिएनन् । गंगालाल भने शान्त र गम्भीर थिए । उनका प्रश्नको सक्षिप्त तर सरगर्भित जवाफ दिएर चुपोलाग्थे । सडक बढारिरहेकी मेहत्तरको छेउमा पुगेपछि टक्क अडिएर गंगालालले भने– गणेशमानदाई यी महिलालाई कुनै राणाले देख्यो र समातेर लग्यो भने त्यसको लाग्नेले केही गर्न सक्छ ?

गणेशमान सिंहको जवाफ थियो– कुनै राणाजीले रे, त्यसलाई त मैले सामातें भने पनि कसैले केही गर्न सक्तैन !

गंगालालले अर्को प्रश्न गरे– अनि, तपाई हाम्रा दिदी–बहिनी र श्रीमतीलाई राणाले समातेर लगे भने हामी के गर्न सक्छौं र ? सक्छौं केही गर्न ?

यस पटक गणेशमान सिंह नाजवाफ भए । केही बोल्न सकेनन् ।

गणेशमानलाई बाटोमा पनि तिनै प्रश्नले लघारी रह्यो । घर पुगेर सुते पनि निदाउन सकेनन् । त्यसको उत्तर खोज्न असमर्थ भएपछि राम्ररी उज्यालो नहुँदै उनी गंगालालको ढोका ढक्ढकाउन पुगे । उनले भने, गंगालाल भाइको प्रश्नको विभिन्न कोणबाट मैले विचार गरें । त्यस्तो हीन र असहाय अवस्था हाम्रो वर्तमान हो भन्ने आत्मसात गर्नै प¥यो । त्यो त भयो समस्याको एउटा पाटो, अर्को पाटो त्यसबाट मुक्त हुने उपाय के हुनसक्छ, त्यसको खोज हो । उनले त्यसमाथि सल्लाह गर्न आफू आएको बताए । त्यही खोजको परिणाम थियो, प्रजापरिषद्मा सामेल भएर राणा शासन विरुद्धको आन्दोलनमा होमिने साझा संकल्प । त्यसपछि हो, शहीद धर्मभक्त माथेमाले उनीहरु दुवैलाई प्रजापरिषद्को सदस्यता प्रदान गरेको । सदस्यका हैसियतले गंगालालले अंग्रेजीमा जुन पर्चा ड्राफ्ट गरेका थिए, त्यही बरामद भएपछि उनलाई पक्राउ गरिएको थियो । जुन दिन प्रजापरिषद्काण्डको रहष्योद्घाटन भएको थियो, त्यही दिन उनीहरु धर्मभक्तको घर पुगेका थिए । त्यहाँ प्रहरीले घेराउ गरेर खानतलासी गरिरहेको थियो । त्यो देखेपछि गंगालाल भाग्न तयार भए, किनभने, उनी पहिले पनि पक्राउ परिसकेका थिए र कागज गरेर छुटेका थिए । फेरि पक्राउ प¥यो भने उम्किन सकिंदैन के गरुँ भनेर उनले गणेशमानको सल्लाह मागे । उनले नभाग्ने, राणा शासनको डटेर सामना गर्ने सुझाव दिएकाले उनले गिरफ्तारी दिए । उनलाई दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीसंगै फाँसीको सजाय भयो । सदर झ्यालखानाबाट जब गंगालाललाई शहादतका निम्ति शोभाभगवती लैजान लागिएको थियो, त्यस बेला अरु राजबन्दी तथा कैदीलाई गोलघरदेखि जेलको मूल ढोकासम्म विपरीत दिशातर्फ फर्काएर दुई लाइनमा खडा गरिएको थियो, जसको बीचको खालि ठाउँबाट नेल, हथकडी तथा कालो कपडाले मुख ढाकेर गंगालाललाई निकालिएको थियो । परिस्थिति अत्यन्त भयावह र तनाबपूर्ण थियो । कोही कसैसंग बोल्ने र कुरा गर्ने अवस्थामा थिएनन् । तैपनि गंगालाल जब गणेशमान खडा भएको ठाउँमा पुगे, तब टक्क रोकिएर ठूलो स्वरले भने– “गणेशमान दाई, डन्ट फर्गेट माई ब्लड ।”

शहीद गंगालालका ती अन्तिम वाक्यलाई गणेशमानले आफ्नो जीवनको सबैभन्दा ठूलो तिर्नुपर्ने ऋण, अर्थात् राजनीतिक “मिसन” तुल्याएका थिए । उनले २०४६ सालको जनआन्दोलनपछि शहीदको त्यो सपना साकार पार्न सकेकोमा ठूलो संतोष लागेको तथ्य सार्वजनिक सभा, सम्मेलन तथा सेमिनारहरुमा बारम्वार व्यक्त गर्ने गरेका थिए ।

गणेशमान सिंहमाथि शहीद गंगालालले आफ्नो जीवनको अन्तिम अवस्थामा आस्था र विश्वासको जुन निधि सुम्पेर गएका थिए, शहीदको सपना साकार पारिछाड्न उनले देखाएको कटिवद्धता पुष्यलाल श्रेष्ठबाट छिपेको थिएन । गणेशमानलाई आफ्ना साख्य दाजूजस्तो मान्ने गरेको कारण त्यही थियो । अनि, गणेशमान पनि पुष्पलाललाई भाइभन्दा निकटको जस्तो भावनात्मक सम्वन्ध हुन्छ, त्यसको निर्वाहमा कुनै कसर बाँकी राख्दैनथे । उनीहरुका बीचको त्यस्तो आत्मीय सम्वन्धको अन्तरकथा नबुझ्ने धेरैलाई उनीहरुको प्रेस र घृणाको सम्वन्धले आश्चर्यचकित तुल्याउँथ्यो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कामरेड पुष्पलालको दृढ विश्वास थियो, कांग्रेस र कम्युनिष्ट मिलेर संघर्ष नगरेसम्म नेपालमा वांक्षित परिवर्तन आउन सक्तैन र आयो भने पनि त्यो दीगो हुँदैन । त्यही कारण अमेरिकाको बर्कले विश्वविद्यालयका प्रोफेसर लियो इ. रोज, जसले भुवनलाल जोशीसंग मिलेर डेमोक्रेटिक इनोभेसन इन नेपाल लेखेका थिए, उनैले कम्युनिष्टका बारेमा एक ठाउँमा लेखेका छन्– नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास भनेको विभिन्न पार्टीसित गठवन्धन गरेर आन्दोलन गर्नु र सफलताको सिंढी चढ्नु रहेको छ । त्यस क्रममा उसले कांग्रेसबाहेक सबैसंग गठवन्धन गरिसक्यो । तर बीपी कोइराला नेतृत्वको कांग्रेसले कम्युनिष्टसंग गठवन्धनलाई इन्कार गर्दै आएको छ । त्यत्ति बेला पनि कोइरालाका प्रबल समर्थक गणेशमान भने पुष्पलालको लाइनसँग शतप्रतिशत सहमत थिए ।

कुनै समय दुई दर्जनभन्दा केही बढी समूहमा विभाजित कम्युनिष्ट पार्टीका विभिन्न समूहका नेताहरु आफूलाई उग्र क्रान्तिकारी देखाउन कामरेड पुष्पलाललाई ‘गद्धार’ भन्न बाँकी राखेका थिएनन्, तर गणेशमान सिंहले कांग्रेस र कम्युनिष्टलाई मिलाएर २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल तुल्याएर पञ्चायत व्यवस्थाको अन्त्य गरे । संसदीय प्रजातन्त्रको पुनस्र्थापना मात्र गरेका होइनन्, उनलाई त्यस्ता आरोपका कलंकबाट उद्धार पनि गरिदिएका थिए । उनको त्यस्तो सत्प्रयासले शहीद गंगालाल र कमरेड पुष्पलाल दुवैको सपना, एकसाथ साकार हुन पुगेको थियो । यो दोहो¥याइरहन नपर्ला कि त्यसपछि नेपालमा जति परिवर्तन भएका छन्, सबै त्यही जगमा उभिएर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्