Logo
Logo

मैले भेट्टाउन न सकेको पन्ना


प्रकाशप्रसाद उपाध्याय (वरिष्ठ सञ्चारकर्मी)


पन्ना बहुमूल्य रत्नहरुमध्ये एक गनिन्छ । अनि बहुमूल्य भए पछि हत्तपत्त सबैले फेला पार्न सक्तैनन् । मेरो हकमा पनि यस्तै भयो । निर्जीव पन्ना त के मैले आफ्नो जीवन कालमा जीवन्त प्राणी पन्ना समेत फेला पार्न सकिनँ । यद्यपि एक जना रेडियो उद्घोषकका रूपमा मैले पन्नाका कैयन गीतहरु अनेकपल्ट बजाउने र श्रोताहरु सामु पस्कने अवसर पाएको थिएँ ।
नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त पन्नाकाजी आज हाम्रो माझ छैनन् । छन् त मात्र उनका कालजयी गीतहरुले हामी जस्ता पुराना पीढीका स्रोता एवम् रेडियो उद्घोषकहरुमाझ पारेका छापहरु, उनका समकक्षीहरुले उनको स्मृतिमा लेखेका लेखहरु र कैसेट आदिमा भरिएका उनका मधुर स्वर लहरीहरु ।
अल इण्डिया रेडियो, नयाँ दिल्ली, भारतबाट प्रसारित हुने नेपाली कार्यक्रमबाट एक जना उद्घोषकका रूपमा उनका विभिन्न गीतहरु बजाउँदै आएको र उनका गीतहरुले मलाई उनको नजीक ल्याउने गरेको भए तापनि मैले उनलाई भेट्न पाएको थिईनँ, भौगोलिक दूरीका कारण ।
हुन त नयाँ दिल्लीको यात्रामा जाने अधिकांश नेपाली गायकहरुको चाहना अल इण्डिया रेडियोबाट आफ्नो गीत बजोस् भन्ने हुन्थ्यो र उनीहरु कुनै न कुनै रूपमा हाम्रो सम्पर्कमा पर्दथे । र हामी पनि यथासक्य उनीहरुका गीतहरु रेकर्ड गरी आफ्नो गीतको भंडारको श्रीवृद्धि गर्ने गथ्र्यौं । तर पन्नकाजी कि त नयाँ दिल्ली आएनन् वा अल इण्डिया रेडियोबाट आफ्ना जति गीतहरु बजिरहेका थिए, त्यसैमा सन्तुष्ट भएर हाम्रो सोझो सम्पर्कमा आउन चाहेनन् ।
सन् साठीको दशकको सुरुतिर भारत सरकारले नयाँ दिल्लीबाट नेपाली भाषामा कार्यक्रमको प्रसारण थाल्यो मूल रूपमा नेपाल र भारतका नेपालीभाषी क्षेत्रका लागि । सिक्किम त्यति बेला भारतको अभिन्न अंग बनिसकेको थिएन । तापनि नेपाली गीतको प्रसारण सिक्किम, भूटान र तिब्बतसम्म पुग्ने गर्दथ्यो, जुन त्यताबाट आउने चिट्ठीहरुबाट स्पष्ट ुहुन्थ्यो ।
कार्यक्रम विधिवत् रूपमा थाल्नु अघि अल इण्डिया रेडियोका केही प्राविधिक एवम् प्रशासकीय अधिकारीहरुको एक टोली काठमाण्डौं आएको थियो नेपाली गीतहरु रेकर्ड गर्न भनी । फलस्वरूप काठमाण्डौमा भारतीय दूतावासको सौजन्य र सहयोगबाट ठूलो संख्यामा नेपाली गायक–गायिकहरुका गीतहरु रेकर्ड गरिए । जुन कार्यक्रम शुरु भएपछि नियमित रूपमा बज्न थाले । यिनै गायकहरुमध्ये एक थिए पन्नाकाजी । खर्सांगमा रेडियो स्टेशन स्थापित भए पछि यीमध्ये अनेक गायक–गायिकाका गीतहरु त्यहाँ पनि पठाइए ।

पन्नाकाजी

पुष्प नेपालीको ‘पीरतीको विषालू काँढा, हाय बिझ्यो मेरो कलिलो छातीमा’, पन्नाकाजीको ‘तिरीरी मुरली बज्यो बनैमा’, धर्मराज थापाको ‘सिगरेटै खान्छौ कि थापा दाई चाँदीको कुल्फीमा,’ नातिकाजीको ‘कुखुरा बास्यो बिहानी हाँस्यो’, जनार्दन समको ‘शीतको थोपा अलमलियो’, तारा देवीको ’आकाशको तिरमिरे तारा’ जस्ता गीतहरु मेरो र श्रोताहरुका अत्यधिक मन परेका गीतहरुमध्ये थिए । फलस्वरूप यी गीतहरुका लागि श्रोताहरुका बढी अनुरोध हने हुँदा यी गीतहरु अधिकांंश रूपमा बजाउने र बज्ने गर्दथे ।

सन् १९६२मा मैले करारमा एक जना कैजुअल आर्टिष्ट र पछि स्टाफ आर्टिष्टको रूपमा काम गर्न थालें । उद्घोषणाको ड्यूटी पर्दा बजाउने गीतहरुमा पन्नकाजीका गीतहरु पनि पर्दथे । आधा घण्टाको स्पूल टेपमा लगभग ६–७वटा गीतहरु भरिएका हुन्थे । उद्घोषणाको ड्यूटीले मलाई धेरै नेपाली गायक–गायिकहरुका गीतहरु सुन्ने र उनीहरुका आवाजबाट परिचित हुुने अवसर जुरायो । पन्नाकाजीको आवाजको मधुरता, गीतलाई जीवन्त रुप दिने क्षमता अनि गलाले प्रकट गर्ने हृदयको स्पन्दनले मलाई लट्ठ पार्दथ्यो । कुनै–कुनै गीतहरु सुन्दै गर्दा त म भावविभोर पनि हुन्थें किनभने तिनमा वेदनाको भाव प्रकट भइरहेको हुन्थ्यो ।
पुष्प नेपालीको ‘पीरतीको विषालू काँढा, हाय बिझ्यो मेरो कलिलो छातीमा’, पन्नाकाजीको ‘तिरीरी मुरली बज्यो बनैमा’, धर्मराज थापाको ‘सिगरेटै खान्छौ कि थापा दाई चाँदीको कुल्फीमा,’ नातिकाजीको ‘कुखुरा बास्यो बिहानी हाँस्यो’, जनार्दन समको ‘शीतको थोपा अलमलियो’, तारा देवीको ’आकाशको तिरमिरे तारा’ जस्ता गीतहरु मेरो र श्रोताहरुका अत्यधिक मन परेका गीतहरुमध्ये थिए । फलस्वरूप यी गीतहरुका लागि श्रोताहरुका बढी अनुरोध हने हुँदा यी गीतहरु अधिकांंश रूपमा बजाउने र बज्ने गर्दथे ।
व्यक्तिगत यात्रामा काठमाण्डौं आउँदा एक पल्ट राष्ट्रिय नाँचघर पुगें, जहाँ गायिका गंगा देवी, तत्कालिन प्रसिद्ध नृत्यांगना बिमला देवी, नारायण गोपाल, सुभद्रा अधिकारी र एक जना डंगोल भाईलाई भेटें । अन्य गायकहरु भेटिएनन् । गंगा देवीज्यूसित दिल्लीमा भेट भइसकेकोले उहाँले एक दिन मलाई रेडियो नेपाल घुमाउन लै जानुभयो । स्टूडियोहरु हेरियो तर पन्नाकाजी लगायत कुनै गायक–गायिकालाई भेट्न पाइएन । व्यक्तिगत यात्रामा काठमाण्डौं आउँदा २–४ पल्ट रेडियो नेपाल पसें । एक पल्ट जाँदा महानिर्देशक भोग्यप्रसाद शाह हुनुहुन्थ्यो । उहाँसित पनि दिल्लीमा भेट भइसकेको थियो । काठमाण्डौं आउँदा भेटनु होला भनी आग्रह गर्नुभएकोले उहाँलाई भेट्न पुगें । उहाँले व्यक्तिगत रूपमै मलाई रेडियो नेपालको नयाँ भवन र स्टुडियोहरु देखाउनुभयो । जुन केही महिना अघि नै बनाइएको थियो । त्यति बेला पनि गायक–गायिकाहरुलाई भेट्न सकिएन । यसरी पन्नाकाजी लगायत आफ्ना अन्य प्रिय गायकहरुलाई भेट्न सकिएन ।
४२ वर्षको सेवापछि अवकाश पाएर काठमाण्डौ फर्कें । नयाँ घरजम गर्नुपर्दा व्यस्त दिनचर्या हुन थाल्यो । यसैबीच थाहा पाएँ माघ १२गते २०७३ सालमा पन्नाकाजी स्वर्गीय हुनु भएको कुरा । गीत–संगीतको गोरेटोमा लगभग ३२ वर्ष यात्रा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति अर्जन गरेका र विभिन्न प्रतिष्ठाजनक पदकबाट विभूषित पन्न्नाकाजी यति चाँँडै महायात्रामा प्रस्थान गर्लान जस्तो लागेको थिएन । कलाजगतका एक जना समीक्षकले पन्नाकाजीको निधनसँगै नेपाली सुगम संगीतको युग अन्त्य भएको भनेका छन् । वास्तवमा यस्तो नहुनु पर्ने हो । किनभने हरेक युग भावी पुस्ताका लागि प्रेरणादायी र स्मरणीय हुनु पर्दछ । त्यसको अन्त्य हुनु हुँदैन । त्यसलाई प्रासंगिक बनाउने कर्तव्य नयाँ पीढ़ीको हुनु पर्दछ । नेपालको राजनीतिक र साहित्यिक संदर्भमा कुरा गर्दा २००७सालमा समाप्त भएको राणाकालीन युग, २०४६सालको जन आन्दोलन र २०६२–०६३को जनआन्दोलनले ती कालखण्डलाई ऐतिहासिक महत्व प्रदान गरेका छन् र आजपर्यन्त सान्दर्भिक छन् । समान रूपमा, देवकोटा, पौडेल र समको युग नेपाली साहित्यको स्वर्णिम युगको रूपमा महिमामण्डित भइरहको छ र भई नै रहनेछ । त्यसै गरी नेपाली संगीत र सुगम संगीतको क्षेत्र पनि हाम्रा पराना गायक–गायिकाहरुबाट सान्दर्भिक र प्रासंगिक भइरहनु पर्ने थियो र भइरहनु पनि पर्दछ । तर नेपाली संगीतको क्षेत्र भने यस सन्दर्भमा उपेक्षित भयो जस्तो लाग्दछ । पन्नाकाजी, नातिकाजी, धर्मराज थापा, जनार्दन सम, बच्चु कैलाश, उही गोविन्द बहादुर, कोइली देवी, तारादेवी जस्ता गायक–गायिकाहरुले नेपाली संगीतलाई एक उँचाई दिएका थिए । त्यो युग वास्तवमा नै नेपाली गीत–संगीतको एक स्वर्णिम युुग थियो ।
रेडियो नेपालको १७औ. वार्षिकोत्सवको अवसरमा सर्वोत्तम साधक गायक पुरष्कारबाट वि.सं. २०२३मा सम्मानित पन्नाकाजीले वि.सं. २०७३ सालसम्म दर्जनौं पदक र पुरष्कार पाए जसमा शुभराज्याभिषेक पदक (२०३१) र वीरेन्द्र ऐश्वर्य पदक (२०५८)जस्ता प्रतिष्ठित पदक पनि शामेल छन् ।
नेपाली संगीतमा जनार्दन सम, नातिकाजि, पन्नाकाजी जस्ता गायकहरुले छरेका मेलोडी आज कता हो कता हराएको अनुभव गर्न थालेको छु । यद्यपि, नवोदित गायक कलाकारहरुको आगमनबाट नेपाली–संगीतको भंडार भरिन थालेको छ, आधुनिकताको छाप पर्न थालेको छ । श्रोताहरुले नयाँ गायक कलाकारहरु पाउन थालेका छन् । तर उनीहरुले समेत पुराना गायक कलाकारहरु र तिनका गीतहरु उपेक्षित हुँदै गएका अनुभव गर्न थालेका छन् ।
आज देशभरि एफएम र इलेक्ट्रोनिक सञ्चार माध्यमको सञ्जाल फैलेको अवस्थामा आवश्यकता छ यस्ता महान गायक–गायिकाहरुका गीत–संगीतलाई वर्तमान युवा सन्ततिसित पनि परिचित गराउने । ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ वा ‘तिरीरी मुरली बज्यो बनैमा’, भन्ने गीत अहिले बज्न बन्द भए पनि ती गीत सुन्दै हुर्केको हाम्रो पीढीको कानमा आज पनि यी गीतहरुका ध्वनि गुँज्दछन् भने बर्तमान सन्तति यस्ता गीतहरु सुन्नबाट वंचित हुनु भएन । हाम्रो छिमेकी देशमा आज पनि किशोर कुमार, तलत महमूद, मुकेश, मोहम्मद रफी, के. एल. सहगल, बेगम अख्तर, शुभलक्ष्मी जस्ता गायक–गायिकहरु प्रासंगिक छन, स्मरणीय छन । राति १० बजेको समय अधिकांशको सुत्ने समय हुन्छ भने विद्यार्थीहरुको चाहिँ पढ्ने । यसो हुँदा गीत–संगीत बजाउने प्रसारण संस्थानहरुले यस्ता गायकहरुका गीत यस्तो समयमा बजाउनु पर्दछ जुन सबैका लागि उपयक्त होस् ।
वरिष्ठ संगीतकार सी.के. रसाइलीले पन्नाकाजीलाई नेपालको तलत महमूदको संज्ञा दिएका थिए भने तलत महमूदले पनि दुरुस्त आफ्नै स्वरमा गाएको सुन्दा पन्नाकाजीको मुक्तकंठले प्रशंसा गरेका कुरालाई बिर्सनु भएन ।
नेपाली साहित्य जगतका जाज्वल्यमान ताराहरु–बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भीमनिधि तिवारी, शंकर लामिछाने र जनार्दन समदेखि लिएर म.बी.बी. शाहसम्मका रचनालाई स्वर र धुन प्रदान गरी प्रशंसा बटुलेका नेपाली संगीत जगतका पन्ना (पन्नाकाजीे) लगायत त्यति बेला नेपाली संगीतलाई उँचाई दिने गायक–गायिकाहरुलाई बिर्सनु नेपाली संगीत क्षेत्रसित अन्याय हुनेछ भन्दै म यी महान गायकका पुण्यतिथिको अपसरमा उनीप्रति आफ्नो श्रद्धासुमन अर्पित गर्दछु ।

प्रतिक्रिया दिनुहोस्