Logo
Logo

छाडा गीत गाउनेलाई कालोसूचिमा राख्ने चेतावनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ साउन । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले छाडा र अपाच्य शब्द चयन गर्ने कलाकारलाई कारबाही गर्ने भएको छ । पछिल्लो समय लोक गीतमा छाडा, अपाच्य र द्विअर्थी शब्द चयन बढ्दै गएपछि प्रतिष्ठानले यस्तो निर्णय गरेको हो ।
प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै अपाच्य गीत सिर्जना गर्ने स्रष्ठा, सर्जक र कलाकारलाई कालोसूचीमा नामांकन गरेर प्रतिष्ठानको सेवा सुविधा र गतिविधिबाट बञ्चित निर्णय गरेको जनाएको छ ।
विकृति विसंगती गीतलाई न्यूनीकरण गर्नका लागि एक कार्यदल गठन गरि सो निणर्य गरेको प्रतिष्ठानले विज्ञप्तिमा जनाएको छ । गायक शिव हमालको संयोजकत्वमा गठित विकृति विसंगति न्यूनिकरण कार्यदलले गीतसंगीत निकाल्ने संस्था तथा गायक गायिकासँग छलफल गर्ने पनि जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अपाच्य शब्द गाएर क्षणिक चर्चामा आउन चाहेका कलाकार होइनन्, उनीहरु व्यापारिक हुन् । जो व्यापार गर्न आएका हुन् । जसले गर्दा भोलीका पिँढीले नेपाली लोकगीतसंगीत नै विर्सने अवस्था आउन लागेको छ । यसले गर्दा यस्ता खालका गीतहरु रोक्नका लागि पहल गरेका हौँ ।’
कलाकारले विकृति तथा अपाच्य शब्दका गीत बजारमा ल्याए प्रतिलिपि अधिकार रजिस्टार कार्यालयसँग छलफल गर्दै कानुनी कारबाहीमा जाने समेत चेतावनी प्रतिष्ठानले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्