काठमाडौं । नेपाल प्रहरीमा बढुवाका लागि शक्ति केन्द्रकै भर पर्न थालिएको छ । नेपाल प्रहरीमा ११ एसएसपी, १३ एसपी र १२ डीएसपीको रिक्त दरवन्दीका लागि शक्ति केन्द्रकै भर पर्न थालिएको हो । यसअघिका बढुवाको विभिन्न समयमा छुटेका र अवकाशको मुखमा पुगेका प्रहरी अधिकृत अहिले बढुवाका लागि गृहमन्त्रीको नीजी निवास, नेपाली कांग्रेसका नेताहरुको घर तथा अन्य शक्ति केन्द्र धाउन थालेका छन् । यसका साथै तल्लो व्याचका अधिकृत पनि बढुवामा लागि शक्ति केन्द्रको लबिङमा लागेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित सचिवालयबाट व्यापक चलखेल हुँदा सशस्त्रको एआईजी र प्रहरीको डीआईजी बढुवा विवादमा आएको थियो । उक्त बढुवामा करोड–करोडका प्रसंग सार्वजनिक भएपनि यसको कुनै सार्वजनिक खण्डन आएको छैन । अहिले हुन लागेको बढुवामा योग्यलाई पछाडि पारेर जुनियर व्याचलाई अगाडि ल्याउन खासगरी गृहमन्त्रीको सचिवालयमा रहेको एउटा समूह लागिपरेको छ । गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका जनक भट्ट लगायतको टोली लागिपरेको स्रोतको दाबी छ ।
जेठ १६ गते ११ एसएसपीले डीआईजीमा बढुवा पाएपछि एसएसपी दर्जाको ११ दरबन्दी रिक्त छ । त्यसका लागि २३ दाबेदारका बीच चर्को प्रतिस्पर्धा छ । ११२ औं प्रहरी निरीक्षक आधारभूत तालिममा सरिक टोलीका तीनजना स्वाभाविक दाबेदार मानिएका छन् ।
२०५६ असार ३ मा नियुक्त ती अधिकृतमध्ये तुलबहादुर कार्की, राकेश सिंह, राजिवबहादुर बस्नेत एसएसपी हुन बाँकी छन् । उक्त व्याचका अन्य अधिकृत विभिन्न लटमा एसएसपी हुँदै डीआईजी हुने प्रतीक्षामा छन् । कार्की यसअघि छुटेका कारण यसपटक उनको बढुवा निश्चित जस्तै रहेको छ । जेठ १६ कै बढुवामा डीआईजी हुने अपेक्षामा रहेको उक्त टोलीलाई राष्ट्रिय अनुसन्धान विभागको टोलीले व्यापक आर्थिक चलखेलमा रोकेको चर्चा छ ।
्एकातिर बूढानीलकण्ठ सक्रिय हुने, अर्कातिर आईजीपी दीपक थापाले ११२ टोलीका पक्षमा अडान नलिएकै कारण उक्त टोली डीआईजी हुनबाट रोकिएको चर्चा प्रहरी प्रधान कार्यालयमा हुने गरेको छ । पछिल्लो समय सशस्त्र र नेपाल प्रहरीको सरुवा बढुवामा शेरवहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवा संलग्नबारे चर्चा चलेको थियो ।
हाल रिक्त ११ एसएसपीका निम्ति ११४ टोलीबाट छुटेका अधिकृत पनि समावेश हुने भएका छन् । प्रहरी निरीक्षक आधारभूत तालिमका निम्ति २०५८ साउन १८ मा नियुक्तिपत्र प्राप्त उक्त टोलीका २५ जना एसएसपी भइसकेका छन् । अब २० जना बढुवा हुन बाँकी छन् ।
भैँसेपाटी हनिट्रयाप काण्ड लागेकी इन्स्पेक्टर बिनु शाहीसँगको सम्पर्कका कारण विवादमा आएका एसपी कमल थापा, जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा थुनुवाको मृत्युपछि बढुवा वञ्चित भएका प्रकाश रानाभाटसहितका अधिकृत यसचोटि एसएसपी हुने लाइनमा छन् । ऋषिराज कँडेल, पदमबहादुर विष्ट, प्रवीण धिताल, बासुदेव खतिवडा, ज्ञानेन्द्रप्रसाद फुयाँल, श्यामसिंह चौधरी, दयानिधी ज्ञवाली, दिलीप घिमिरे, राजकुमार सिलवाल, राजेन्द्रप्रसाद धमला, सुवासचन्द्र बोहोरासहितका एसएसपी दाबेदार हुन ।
११ एसपीले एसएसपीमा बढुवा पाएपछि एसपीको रिक्त दरबन्दी संख्या १३ हुन्छ । त्यसका लागि २०६१ जेठ १५ मा प्रहरी निरीक्षक आधारभूत तालिमका निम्ति नियुक्तिपत्र प्राप्त पाँच अधिकृत बढुवा हुन बाँकी छन् । अनिल खड्का, वीरेन्द्र थापा, महेन्द्र नेपाल, दीपेन्द्र पञ्जियार थारु र महेश थापा एसपी बढुवाका निम्ति बलिया दावेदार हुन् ।
२०६२ भदौ २३ मा नियुक्त ती अधिकृतमध्ये डिलबहादुर मल्ल, पुष्प मल्ल, केशव भट्टराई, प्रेमसागर केसी, रूपक खड्का, रविन श्रेष्ठ, कुमारविक्रम थापासहितका बढुवा दाबेदार छन् । १३ डीएसपीले एसपीमा बढुवा पाएपछि रिक्त हुने डीएसपीको १२ दरबन्दीका निम्ति विभागीय टोलीका १७ दावेदार दौडधुपमा छन् । प्रहरी सहायक निरीक्षक (असई) को आधारभूत अधिकृत तालिमका निम्ति २०५४ चैत १६ मा छनौट भएको ‘ककनी चौथो’ टोलीका अधिकृत डीएसपी बढुवाका दावेदार हुन् । तीमध्ये २०७१ चैत १ गते सईबाट इन्स्पेक्टर भएका १७ जना मुख्य दावेदार छन् ।
यो टोलीका अधिकृत २०७१ देखि २०७६ सम्ममा इन्स्पेक्टर बढुवा भएका थिए । अधिकांशले विभिन्न मितिमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर परीक्षा उत्तीर्ण गरी हाल एसएसपीसम्म भएका छन् । अहिले डीएसपी बढुवाका दाबेदारका निम्ति २०७१ चैत १ मा इन्स्पेक्टर बढुवा हुने प्रकाश थापा, होम अधिकारी, निशेष चापागाईं, शेखरजंग मल्ल, दिलीप क्षेत्री, राजु अधिकारी बढुवाको कसरतमा छन् । तर उनीहरुमध्ये जसले शक्ति केन्द्रलाई रिझाउन सक्ने हो उही मात्र बढुवामा योग्य हुने चर्चा प्रहरी प्रधानकार्यालयमा चलेको छ ।