Logo
Logo

सप्तरी नापीका प्रमुख मिश्रद्वारा अधिकृतमाथि अत्याचार

कार्यालयमा भएका कर्मचारीको हाजिरमा रेजा


24.7k
Shares

काठमाडौं । नापी कार्यालय सप्तरी राजबिराजका प्रमुख सुमनकिशोर मिश्रको कार्यशैली र ब्यवहारबाट कर्मचारीहरु आजित छन् ।

नापी कार्यालय सप्तरीमा मिश्रले गाउँब्लकको नाप नक्सा एवं जग्गा दर्तामा निकै रकम उठाएको आरोप छ । कर्मचारीहरुलाई धम्क्याउने, गैरकानूनी काम गर्न दबाब दिने र सो को फोटोकपी गरेर राख्ने र थप गैरकानूनी काम गर्न नमाने यसअघि गरेको गैरकानूनी कामको बारेमा अख्तियारमा उजुरी दिएर फसाइदिने भनेर तर्साउने गर्दैआएका छन् ।

उनले डर–धम्की देखाएर पटक पटक गैरकानूनी काम गराउने र घुस भने उनले मात्रै लिने गरेको आरोप छ । कार्यालयका सबै कर्मचारी मिश्रसँग रुष्ट छन् । फिल्डबुक आफैं च्यात्ने, कर्मचारीलाई तर्साएर पब्लिकले च्यातेको मुचुल्का बनाई पब्लिकलाई प्रहरी लगाएर थुनाउने कामसमेत मिश्रले गरेका कारण नापी कार्यालय राजबिराज विवादमा परिसकेको छ ।

हालै नापी कार्यालय सप्तरीका एक कर्मचारी कार्यालय प्रमुख मिश्रको अन्यायको शिकार भएका छन् । नापी कार्यालय सप्तरीका नापी अधिकृत रामकुमार द्विवेदी एक इमान्दार कर्मचारी हुन् । उनी सेवाग्राहीलाई दुःख दिएर घुस लिने कुराका बिरोधीका रुपमा चिनिन्छन् । सेवाग्राहीको प्रक्रिया पूरा भएको काममा कहिल्यै आनाकानी गर्दैनन् । खुरुखुरु गरिदिन्छन् ।

सुमनकिशोर मिश्र भन्दा एक ब्याच अगाडि सिनियर नापी तालिम लिएका द्विवेदी २०६८ सालमा मिश्र सँगै नापी अधिकृत भएका थिए । सुमनकिशोर मिश्र २०७७ सालमा प्रमुख नापी अधिकृत(उपसचिव)मा बढुवा भए भने द्विवेदीहालसम्म पनि नापी अधिकृत नै छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा नम्बर काटिएका कारण यसपटक पनि बढुवा भएनन् । छोराको मृत्युपश्चात् विक्षिप्त बनेका द्विवेदी कार्यालयमा हाजिर रही काम गरिरहेको अवस्थामा कार्यालय प्रमुख मिश्रले केही दिनअघि द्विवेदीको हाजिरमाथि विनाकारण रातो लगाइदिए । आफ्नो हाजिरीमा उपस्थित हुँदाहुँदै रातो रेजा लगाएको विषयमा कार्यालय प्रमुख मिश्रसँग जानकारी माग गर्दा मिश्रले मेरो अधिकारको कुरा हो भन्दै अपशब्द प्रयोग गरेपश्चात् कार्यालयमा तनवको वातावरण बन्न पुग्यो ।

मिश्रले कर्मचारीहरुलाई डर धम्की दिएर द्विवेदीविरुद्धको मुचुल्का तयार पारे । स्पष्टीकरण सोध्ने नाममा कार्यालयको सूचना पाटीमा स्पष्टीकरण टाँस गरेर ५ वर्षको बढुवा रोक्काको विभागीय कारबाहीको सिफारिससहित नापी विभागमा पत्र पठाएका छन् ।

छोराको मृत्यु पश्चात् विक्षिप्त बनेका द्विवेदी कार्यसम्पादनको मूल्याङ्कनमा नम्बर काटिएका कारण बढुवा हुन नसक्दा थप विक्षिप्त बनेका छना् । द्विवेदीलाई कार्यालय प्रमुख मिश्रले विभागीय कारबाही गराई थप ५ बर्ष बढुवा रोक्ने प्रयास गरेका छन् ।

नापी कार्यालय धनुषाबाट २०८० सालमा नापी कार्यालय सप्तरी राजबिराज सरुवा भएका सुमनकिशोर मिश्र राजबिराज हाजिर भएको दिनदेखि नै काठमाडौं उपत्यकाको नापी कार्यालयमा आउन चलखेल गरिरहे र हालसम्म पनि गरिरहेका छन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशी मिश्रका सिनियर नापी तालिमका ब्याची साथी हुन् । मिश्रले महानिर्देशकको आडमा कर्मचारीहरुलाई डर धम्की दिने थर्काउने गैरकानूनी काम गराउने गर्दैआएका छन् । महानिर्देशक जोशीले उनै मिश्रलाई संरक्षण गर्दा सप्तरी नापीका कर्मचारी एकपछि अर्को अन्यायको शिकार हुँदैआएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारीलाई बेला बखत भेटी चढाउने मिश्रलाई मन्त्रीले समेत संरक्षण गरिरहेका छन् । एक बर्षअगाडि नापी कार्यालय सप्तरीबाट नापी विभाग सरुवा भएका मिश्रको पत्र तथा निर्णय मन्त्री बलराम अधिकारीले भेटी प्राप्त गरेपछि उनकै निर्देशनमा गायव पारिएको थियो ।

मिश्रले राजबिराज बजार क्षेत्रको शहरी ब्लकका जनतासँग काम गरिदिन्छु भन्दै धुरको हिसावमा पैसा उठाउने बार्गेनिङ गरिरहेका छन् । बजारको ब्लकभित्रको होटलहरुमा जाने, काम गरिदिन्छु भन्दै टन्न सिंत्तैमा खाने र केही काम नगर्ने गरिरहेका छन् ।

काम हुन्छ कि भन्ने आशमा होटलले सिंत्तैमा खुवाइरहेका छन् । जनता घुस खुवाउन बाध्य भइरहेका छन् । मिश्र जस्ता अति नै भ्रष्ट हाकिमलाई एकछिन पनि नापी कार्यालय सप्तरीमा राख्न नहुने कर्मचारी एवं सेवाग्राही जनताको राय रहेको छ । मिश्र जवसम्म नापी कार्यालय सप्तरीमा रहन्छन् विकृति र विसंगति बढ्दै जाने भएकाले उनलाई तत्काल सप्तरीबाट अन्यत्र सरुवा गर्नुपरने टड्कारो छ । प्रमुख नापी अधिकृत मिश्रको भारतको बिहारबाट किनेर ल्याइएको सर्टिफिकेट र सितामढीमा आफन्तको नाममा थुपारेको सम्पत्ति समेत अनुसन्धान गर्नुपर्ने माग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्