Logo
Logo

बुद्ध नबुझेका विद्धान


- विजयकृष्ण श्रेष्ठ


  • विजयकृष्ण श्रेष्ठ

बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने कुरा ऐतिहासिक तथ्य हो । यस स्थितिमा भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई भारतीय भनेर नेपाली जनतालाई क्षुब्ध बनाएका छन् । जयशंकर विदेशसचिव भइसकेका व्यक्ति हुन् । उनले नेपाललाई राम्ररी नै चिनेका छन् ।

संविधान निर्माणताका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाडौँ आएका थिए । केही दिनका लागि संविधान घोषणा नगर्न उनले यहाँका नेताहरुसँग आग्रह गरे । तर, संविधान जारी भयो । त्यसैको झोंकमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । तिनै जयशंकर अहिले विदेशमन्त्री छन् । उनको समयमा नेपाल–भारत सम्बन्ध जटिल मोडमा पुगेको छ । खासगरी नेपालले नयाँ नक्सा जारी गरेपछि भारत वर्तमान सरकारसँग रुष्ट बन्दै आएको छ । यस्तो बेलामा भारतका विदेशमन्त्री जस्तो व्यक्तिले बुद्धका बारेमा तथ्यहीन कुरा बोल्नु राम्रो कुरा होइन । हुन त यो विषयमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले खण्डन गरिसकेका छन् ।

जीसस क्राइस्टलाई कुनै देश विशेषको नागरिकको हिसाबमा सीमित गरिँदैन । हजरत मोहम्मदलाई पनि कुनै देश विशेषको नागरिकको हिसाबमा सीमित गरिँदैन । तर बुद्धलाई भारतीय भन्नु भनेको त सम्पूर्ण बौद्ध जगत्कै अपमान हो । भारतीय विदेशमन्त्री जयशंकरजस्तो विद्धानले बोल्दा उनले बुद्धलाई बुझ्न सकेनन् । यो बडा दुःखको कुरा हो ।

बुद्धको जन्मस्थलका सम्बन्धमा नेपाल र भारतका बीच कुनै विवाद छैन । केवल भारतले बुद्धको जन्मस्थल भारत हो भनेर प्रचार गर्नाले नेपालले बेलाबखत खटपट हुने गरेको छ । जर्मन पुरातत्वविद् फ्युहरले नेपालको लुम्बिनीमा भेटिएको अशोकस्तम्भमा कुँदिएको ब्राह्मी लिपिको लेखोटका आधारमा उक्त स्थललाई बुद्ध जन्मभूमि भनेका थिए । तर आज १२४ वर्ष बितिसक्दा पनि भारतीय पक्षले आफ्नो भूमिमा भेटिएको अशोकस्तम्भको लेखोट आफैँले डिसाइफर गरेर कुनै किसिमको दावी गर्न सकेको छैन । नेपालको लुम्बिनीमा भएको लेखोटलाई चुनौति दिने काम १०० वर्षसम्म पनि नभएकाले नेपाली बौद्ध जगतले अब वास्तविक लुम्बिनी नेपालमै रहेको कुरा पुष्टि भएको दावी सन् १९९५ मा प्रचार प्रसार गरेका थिए । त्यो बेला भारतीय पक्षले कुनै दावी अघि सारेनन् । अन्तिम पटकको कुरा गर्ने हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएर संविधान सभामा बोल्दा नै नेपाल नै बुद्ध जन्मभूमि भएको कुरा स्पष्ट पारिसकेका हुन् ।

भारतले नेपाल र भारतका बीच समान साँस्कृतिक र धार्मिक विरासत रहेको कुराको दाबी गर्दै आफूले निकालेको विवादास्पद अभिव्यक्तिबाट उम्कने काम गरेको देखिएको छ । वास्तवमा आजको वैज्ञानिक युगमा कम्तीमा पनि राजनीतिक तहमा हुने कामकुरा तथ्यसत्यमा आधारित हुन जरुरी छ । अझ राजनीतिक तहमा बस्ने मानिसहरुले राज्य तहको दादागिरी देखाउने मात्र नभई सबै फिल्डको अस्तित्व र त्यसमा रहेका मानिसहरुको संवेदनालाई पनि ख्याल गरी हिँड्न जरुरी छ । भारतले सारनाथमा भेटिएको बौद्ध अशोकचक्रलाई नै आफ्नो झण्डामा स्थान दिएको छ भने, अशोकस्तम्भको सिंहलाई आफ्नो निशाना छापमा राखेको छ । वैज्ञानिकता र तथ्यपरकतालाई उच्चस्थान दिई स्वीकार्ने स्वतन्त्रताको समयका आफ्ना अग्रजहरुको पदचिन्हलाई अहिलेका भारतका नेताहरुले पछ्याउन जरुरी छ । त्यसो भए मात्र देशभित्र र बाहिरका आम मानव समुदायले आदर र सम्मानका दृष्टिले हेर्ने वातावरण सिर्जना हुनेछ । अनि मात्र नेपाल र भारत दुई देशका जनताको बीच सम्बन्ध सौहाद्र्रपूर्ण बन्नेछ ।

बुद्धलाई भारतीय भनेको एस जयशंकरको अभिव्यक्ति प्रति नेपाल सरकार र नेताहरुले आपत्ति जनाइसकेका छन् । नेपालीहरु बुद्धलाई कुनै देशविशेषको हो वा कुनै राष्ट्रियताको हो भनेर शब्द प्रयोग गर्दैनन् । केबल बुद्धको जन्मस्थल लुम्विनी हो भनेर भन्छन् । गौतम बुद्ध त वास्तवमा आफैँ कपिलवस्तु राज्यका राजकुमार थिए । शाक्य राजकुलका थिए । उनले राजकुलको सुखसयललाई त्यागेर समस्त मानव जातिको भवचक्रबाट उन्मुक्तिका लागि निर्वाणको बाटो पहिल्याए । उनको शिक्षा, सन्देश र बाटो सबै मानव मात्रका शान्तिका लागि हो ।

प्रतिक्रिया दिनुहोस्