Logo
Logo

कारागारबाट रवीको अपिल : संविधान पुनर्लेखन र प्रदेश खारेज गरौँ 


2.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको संविधान पुनर्लेखन गर्नुपर्ने र सङ्घीयता खारेज गर्नुपर्ने माग राखेका छन् । सहकारी ठगी प्रकरणमा आरोपित भई हाल भैरहवा कारागारमा पुर्पक्षमा रहेका लामिछानेले कारागारबाटै जारी गरेको अपिलमा यस्तो भनेका हुन् ।

The current image has no alternative text. The file name is: rabi.gif

लामिछानेले वर्तमान संविधानले भ्रष्टाचार र राजनीतिक अपराधलाई प्रश्रय दिएको आरोप लगाउँदै यसलाई संशोधन मात्र नभई पूर्ण पुनर्लेखन गर्नुपर्ने बताएका छन् । उनले भने, ‘भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको आधार बनेको संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ ।’

उनले संसदीय अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अपनाउनुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने र राष्ट्रियसभालाई विद्वानहरूको थलो बनाउनुपर्ने प्रस्ताव गरेका छन् । ‘राष्ट्रियसभालाई हारेका नेता र आफन्तको होइन, विद्वानहरूको सभा बनाउनुपर्छ । संवैधानिक अङ्गहरूको पुनर्संरचना जरुरी छ,’ उनको अपिलमा उल्लेख छ ।

लामिछानेले सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र २०४६ यताका सबै मन्त्रिपरिषद् निर्णयहरूको समीक्षा गर्नुपर्ने माग पनि राखेका छन् । साथै, उनले राजनीतिक दलका भ्रातृ सङ्गठनहरू खारेज गर्नुपर्ने र दोस्रो चरणको आर्थिक सुधारमार्फत युवा रोजगारी, लगानी र उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । ‘राजनीति स्वच्छ बनाएर शान्तिपूर्ण क्रान्तिका लागि सडक र मतपत्रबाट देश तयार हुनुपर्छ,’ उनले अपिलमा भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्