काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू सङ्घीय प्रणालीको विरोधी नभएको, तर नेपालमा यो प्रणाली उपयुक्त र सम्भव नरहेको बताएका छन् । शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान निर्माणका बेला इच्छापूर्वक नभई बाध्यतावश सङ्घीयता स्वीकार गरिएको दाबी गरे ।

उनले अहिले नेपाली जनतालाई प्रदेश संरचनाको आवश्यकता नरहेको र यसले राष्ट्रलाई ऋणको बोझमा पारेर आर्थिक सङ्कट निम्त्याउने उद्देश्यले लागू गरिएको तर्क गरे ।
केसीले राष्ट्रको हित विपरीतको प्रणाली खारेज गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘म दुवै संविधान सभामा थिएँ। संविधानमा किन र कसरी सङ्घीयता स्वीकार गरियो, मलाई थाहा छ। के नेपाली जनतालाई अहिले प्रदेश चाहिन्छ ? यो संरचनाले देशलाई ऋणमा डुबाएर बिचल्ली पार्ने नियतले लादिएको हो । धेरै जनताले पनि प्रदेश खारेज गर्नुपर्छ भन्ने मेरो भनाइलाई समर्थन गर्छन् । म सङ्घीयताको सैद्धान्तिक विरोधी होइन, तर नेपालमा यो व्यवहारिक र आवश्यक छैन ।’
उनले प्रदेशमा हुने खर्च कटौती गरी स्थानीय तहलाई स्रोत उपलब्ध गराएर स्थानीय सरकारलाई सशक्त बनाउनुपर्ने सुझाव दिए ।