काठमाडौं । पशुपति क्षेत्र विकास कोषले किनेको विद्युतीय शवदाह गृहमा भएको अनियमिततामा तत्कालीन पर्यटनमन्त्री सुदन किरातीलाई जोगाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित डेढ दर्जन अधिकारीमाथि छानबिन गर्दै बयान समेत लिइसकेको अवस्थामा उनलाई जोगाएर मुद्दा दर्ता गरिएको छ ।

ठेकेदार मनोज पुरीसँग सेटिङमा १२ करोड बढीमा किनिएको ४ थान फर्नेश र एउटा जेनेरेटरमा घोटाला भएको भन्दै अख्तियारले तत्कालीनमन्त्री किरातीसहित डेढ दर्जन अधिकारीसँग बयान लिएको थियो । तर मुद्दा दायर गर्दा किरातीलाई भने जोगाइएको हो । तत्कालीन संस्कृतिमन्त्री किरातीको निर्देशनमा पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको विद्युतीय शवदाह गृहका लागि १२ करोड बढीमा ४ थान फर्नेश र एउटा जेनेरेट खरिद गरिएको गरिएको हो ।
उक्त प्रकरणमा किरातीले अख्तियार पुगेर बयान दिएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष सुदन किरातीले सदस्यसचिव बनाएका राजुकुमार खत्री भने अख्तियारको फन्दामा परेका छन् । खत्री सदस्यसचिव भएपछि नै अनियमित तरिकाले ठेकेदार मनोज पुरीलाई एक करोड ८२ लाख पेस्की भुक्तानी गरिएको र त्यसको सेटिङमा किराती र खत्री दुवै मिलेको बताइन्छ । खत्री किरातीको विश्वासपात्र समेत रहेका छन् । जग्गाको कारोवारी रहेका खत्री गाडी किनबेचमा पनि उत्तिकै सक्रिय छन् ।
कोषका तत्कालीन अध्यक्ष किरातीकै अग्रसरतामा शव जलाउने मेसिन खरिद गर्ने निर्णय भएको थियो । कोषको बोर्डले निर्णय गरेपछि तत्कालीन अध्यक्ष किराँतीको दबाबमा ४ वटा फर्नेस मेसिन र एउटा जेनेरेटर खरिद गर्ने प्रक्रिया अघि बढेको हो । मन्त्री किराँती निकट ठेकेदार मनोज पुरीले लास जलाउने मेसिन आपूर्ति गर्ने ठेक्का पाएका थिए । किराँतीले शव जलाउने मेसिन किन्न निरन्तर दबाब दिएपछि कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतका कर्मचारी त कार्यालय नै आउन छाडेका थिए । सदस्यसचिव थापा जलहरी काण्डमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा किराँतीले खत्रीलाई सदस्यसचिवको जिम्मेवारी दिए । त्यसपछि पेस्की दिनेदेखि खरिदका सबै काम द्रूत गतिमा अघि बढाइएको थियो ।
जलहरी काण्डमा विशेष अदालतबाट सफाइ पाएर थापा कोषमा फर्किएपछि खत्री सदस्यसचिवबाट स्वतः हटेका थिए । थापाले थप भुक्तानी रोकिदिए । भुक्तानी पाउनका लागि ठेकेदार पुरी अख्तियारदेखि अदालतसम्म धाएका थिए । यसैबीच अख्तियारले विस्तृत छानबिन गरेर भ्रष्टाचार मुद्दा दायर गरÞ्यो भने उच्च अदालत पाटनले पनि भुक्तानी दिन आदेश दियो ।
अख्तियार विस्तृत छानबिन थालेपछि पेस्की निकासा गर्ने खत्रीले अख्तियारका एक आयुक्तसँग पहुँच बनाएका थिए । तर उनी जोगिने अवस्था आएन । उनका विरुद्ध अख्तियारले १ करोड ८२ लाखको विगो कायम गरेको छ । सुदन किराँतीका विश्वासपात्र खत्री पनि अन्ततः लास जलाउने मेसिनको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका छन् । झन्डै १ दर्जन कर्मचारीमाथि भ्रष्टाचार मुद्दा चल्दा कोष नै खाली हुने अवस्थामा पुगेको छ ।
अख्तियारले ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनलाई १ करोड ५२ लाख नेपाली रुपैयाँ पर्ने देखाई एवं प्रचलित कानूनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वभाविक रुपले बढी लागत अनुमान तयार गरेको अभियोग लगाएको छ । चारवटा मेसिन खरिदका लागि कोषले २०८० असोजमा म्याप इन्टरप्रेनर्स प्रालिका मनोज पुरीसँग सम्झौता गरेको थियो । पाँच करोड ६५ लाख ५४ हजार ७ सय ९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन २ बर्षअघि नै जडान गरिएका थिए । पहिलो लटमा आपूर्ति गरिएका मेसिन नै तोकिएको गुणस्तर अनुसारका नभएपछि कोषले ठेकेदार पुरीबाट दोस्रो लटको मेसिन नै जडान अनुमति दिन सकेन । शब जलाउने मेसिन तोकिएको गुणस्तरको नभएकाले अख्तियारले मुद्दा दायर गरेको हो ।