काठमाडौं । नेपाली सेनाको एमआई १७ भी ५ हेलिकोप्टर मर्मत गर्ने कम्पनी छनोटमा हेलचेक्र्याइँ गर्दा करिब ३ अर्ब रुपैयाँ गुमेको छ । सेनाले करिब तीन वर्षअघि मर्मतका लागि सम्झौता गरी उक्त हेलिकोप्टर भारत पठाएको तर अहिलेसम्म मर्मत गरी फिर्ता नआएका कारण सो रकम गुमेको हो । सैनिक स्रोतका अनुसार अहिलेसम्म मर्मतमा कुनै प्रगति भएको छैन ।

सेनाले २०७० सालमा रुसमा निर्मित दुईवटा एमआई–१७ भी–५ हेलिकोप्टर रोसोबोरोनेक्स पोर्टसँग किनेको थियो । त्यसको दुई वर्षपछि यहाँ ल्याइएका ती दुई हेलिकोप्टरमध्ये एउटा मर्मतका लागि भारतको एमडिएसएल कम्पनीमा पठाइएको हो । भारतको मद्रास सीपि यार्ट (एमडीएसएल) हेलिकोप्टर बेचेको कम्पनीले मर्मत तथा सम्भारका लागि तोकेको आधिकारिक कम्पनी होइन ।
एमडिएसएसलमा हेलिकोप्टर मर्मतका लागि पठाउन नेपालका तर्फबाट व्यान्ड बक्स नामको कम्पनीले सहजीकरण गरेको थियो । सन् २०२३ को जनवरीमा भारत लगिएको उक्त हेलिकोप्टर एमडिएसएल कम्पनीले मर्मत गर्न नसकेपछि त्यसको केही भाग मर्मत गर्न भियतनाममा पठाएको थियो । त्यस्तै इन्जिन र एयर फेमको केही भाग मर्मतका लागि रुस पठाइएको छ ।
भारतमा केही भागको मर्मत भैरहेको जानकारी एमडिएसएलले नेपाली सेनालाई दिएपनि एक वर्ष वितेको छ । मर्मतका लागि रुस पठाइएको इन्जिनबारे भने केही भन्न नसकिने सैनिक उच्च स्रोतले बतायो । ‘रुस पठाइएको इन्जिन आउने संभावना निकै कम रहेको छ’, स्रोतले भन्यो ।
स्रोतका अनुसार नेपाली सेनाले कुन कम्पनीले हेलिकोप्टर मर्मत गर्छ भन्ने सामान्य जानकारी नलिईकन राजनीतिक दबाबमा भारतको एमडिएसएललाई मर्मत गर्न दिएको थियो । सेनाले उक्त हेलिकोप्टरका लागि ५४ करोड रुपैयाँ खर्च गरिसकेको छ । रुसमा निर्माण भएको उक्त हेलिकोप्टरको आधिकारिक मर्मत कम्पनी ‘न्यास’ ले नेपाली सेनालाई पत्र पठाए अन्य कम्पनीले मर्मत गरेको हकमा जिम्मेवारी नलिने जानकारी गराएको छ । नास्कको पत्र पाएपछि सेनाको हवाई महानिर्देशनालय झस्किएको थियो ।
उक्त हेलिकोप्टर भारतको एमडिएसएल कम्पनीमा मर्मत गर्न पठाउने विषयमा महानिर्देशनालयका प्रमुखसँग छलफल गरिएको थिएन । सेनाले भारतीय सरकारमार्फत हेलिकोप्टर मर्मत गर्ने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । त्यसक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत एमडिएसएल र इभाचान्कोले प्रस्ताव पेस गरेका थिए । सेनाले एमडिएसएलको प्रस्ताव स्वीकृत गरेपछि उसले मर्मतका लागि हेलिकोप्टर लगेको थियो । नेपाली सेनाले मर्मतका लागि छुट्याएको ५४ करोड बजेटभित्र मर्मत गर्नेगरी प्रस्ताव आह्वान गरेको थियो ।
यसअघि भारतीय सेनाको बिआरटी चण्डीगढले यस्तै प्रकृतिको अर्को हेलिकोप्टर मर्मत गरेर पठाएको थियो । ‘एउटा हेलिकोप्टर भारतले मर्मत गरी पठाइदियो तर अर्कोको इन्जिन मर्मतका लागि भारतीय कम्पनीले रुस पठाएकाले त्यो फिर्ता हुने सम्भावना कमजोर छ । मर्मतसहित फिर्ता नभएपछि नेपाली सेनाले करिब ३ अर्ब रुपैयाँ गुमाइसकेको छ यो विषय अहिलेसम्म गोप्य नै छ’, स्रोतले भन्यो । सेनाले तीन वर्षअघि पनि उक्त हेलिकोप्टर मर्मत सम्भार गर्न सिधै रूसबाट सामग्री ल्याउन नसकेपछि भारतीय सेनासँग मर्मतको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो ।
भारतीय सेनाले सहयोग गर्न नसक्ने बताएपछि युक्रेनबाट सामान ल्याएर मर्मत गरिएको थियो । त्यसको केही समयपछि इन्जिनसमेतमा समस्या देखिएपछि मर्मत गर्न एक वर्षअघि भारतको एमडिएसएल कम्पनीलाई दिइएको हो । यसअघि उक्त हेलिकोप्टर मर्मत गर्न करोडौंका स्पेयरपार्ट खरिद गरिएको थियो । स्रोतका अनुसार २०७२ सालमा पनि सेनाले एमआई–१७ भी ५ हेलिकोप्टरका लागि स्पेयरपार्ट खरिद र मर्मतमा करौडौं रुपैयाँ सिध्याएको थियो ।
२०७० सालमा एमआई–१७ भी ५ हेलिकोप्टर खरिद प्रक्रिया विवादमा परेको थियो । अहिले सेनासँग भारतीय राष्ट्रपतिले दिएका चारवटा, एमआई १७ तथा आयरल्यान्ड र पोल्यान्डमा निर्मित हेलिकोप्टर पनि छन् । त्यस्तै फ्रेन्च कम्पनीले बनाएका सुपरपुमा हेलिकोप्टर छन । सेनासँग एभ्रो, स्काई ट्रक र अन्य प्रकारका जहाज पनि छन् । सेतो रङका सुपरपुमा र वेल हेलिकोप्टर अतिविशिष्ट र विशिष्ट व्यक्तिको उडान भर्न प्रयोग गरिन्छ ।