काठमाडौं । एमालेसँग सहकार्य गरेको एक वर्ष पुग्दा नपुग्दै सत्ताधारी दल नेपाली कांग्रेसका नेताहरुले माओवादीसँग भित्रीरुपमा सत्ता सहकार्यका लागि संवाद अघि बढाएको स्रोतले बताएको छ । एमाले र कांग्रेसले असार मसान्तमा सरकार निर्माण गरेका थिए । सरकार निर्माणको क्रममा सात बुँदे सहमति गरेको थिए । सो सहमति अनुसार काम नभएको भन्दै कांग्रेसभित्र ठूलो असन्तुष्टि उत्पन्न भएको बेला माओवादी र रास्वपाका नेताहरुले कांग्रेसका दोस्रो तहका नेताहरुसँग संवाद अघि बढाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग छाडेर सहमतिमा आएको केही दिन बित्न नपाउँदै नेपाली कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू ‘गोप्य’ छलफलमा जुटेका हुन ।
प्रमुख प्रतिपक्षी भए पनि कांग्रेसप्रति नरम देखिँदै आएको माओवादीसँग कांग्रेसका दोस्रो तहका नेताहरूको छलफल सुरु भएको हो । संसद् भवनको शंकर हलमा गोप्य छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए भने माओवादीको तर्फबाट उपमहासचिव वर्षमान पुन र शक्तिबहादुर बस्नेत सहभागी भएका थिए । गोप्य वार्तामा जुटेका नेताहरू पार्टीभित्र सभापति शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।
उनीहरुबीच भएको छलफलमा सरकारले सकारात्मक गतिलिन नसकेको बताएको थियो । सात बुँदे सहमतिको दुई वटा बुँदामा ‘सुशासन’लाई जोड दिइएको थियो । सहमतिको पहिलो बुँदामा ‘आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न,भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताको लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६(२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने’ भनिएको थियो ।
त्यसैगरी सहमतिको बुँदा नम्बर ५ मा पनि सुशासनलाई जोड दिँदै भनिएको छ, ‘राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने’, भनिएको थियो ।
यद्यपि, सरकार सुशासनको सवालमा चुकेको देखिन्छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै यतिबेला प्रश्न उठिरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले उनको राजीनामा र छानबिन समिति गठनको माग गर्दै केही दिनदेखि प्रतिनिधि सभा बैठकमा नारावाजी तथा धर्नाका साथ अवरोध सिर्जना गर्दै आएको छ ।
यस्तो अवस्थामा कांग्रेस र माओवादीका नेताहरुबीच गोप्य वार्ता हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । संविधान संशोधन सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कांग्रेसकै नेताहरू सशङ्कित देखिन्छन् । ओलीले पार्टीको आन्तरिक बैठकमा २०८७ मामात्र संविधान संशोधन हुने ब्रिफिङ गरेकाले पनि कांग्रेस ओलीसँग विश्वस्त हुन सकेको छैन ।
यता संविधान संशोधनको मुद्दाबाट सत्तापक्ष नै पछिहटेको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बुझाइ छ । एक वर्षको अवधिमा सात बुँदे सहमति कार्यान्वयनमा सरकारको उपलब्धि शून्य भएको भन्दै माओवादीले विरोध गरिरहेका बेला उनीहरुको भेटघाटले कांग्रेसलाई सत्ताको बागडोरमा बैकल्पिक मार्ग प्रयोग गर्न सहयोग हुनसक्ने देखिन्छ ।
यसैगरी संसदमा भिजिट भिषा प्रकरणमा आन्दोलन गरिरहेको रास्वपा पनि कांग्रेससँग नजिकिन थालेको छ । सत्ता पक्षले आफ्ना मागलाई सुनुवाई गर्र्ने अवस्था नबनेपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग रास्वपका उपसभापति स्वर्णियम वाग्लले भेटघाट गरेका छन् । यो भेटघाटलाई लिएर नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदलाई लक्षित गर्दै कटाक्ष गरेका थिए ।
दिनभर संसदमा तमासा देखाउनेहरू रातभर कांग्रेसका नेताको पिँढीमा गइरहेको बताउँदै कटाक्ष गरेका थिए । ‘भिजिटर भिसामा संसदमा पलेँटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभरि कांग्रेस नेताका पिँढीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान?,’ गोकुलले लेखेका छन्, ‘यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौँ आश्चर्य नमानौँ है ।’ गोकुलले यो प्रसङ्ग रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेलाई लक्षित गरेर लेखेको देखिन्छ । वाग्लेले शुक्रवार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।