Logo
Logo

दृष्टिलाई अवहेलनामा तीन दिनभित्र जवाफ दिन विशेष अदालतको आदेश


6.9k
Shares

काठमाडौं । विशेष अदालतले सुशासनको पक्षमा समाचार लेखेकै आधारमा दृष्टि साप्ताहिक र अनलाइन दृष्टि न्यूज डटकमलाई तीन दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । विशेष अदालतको पूर्ण इजलास(फुलकोर्ट)को मंगलबार ११ बजे नै बसेको इजलासले अदालतको अवहेलनामा दृष्टि साप्ताहिकलाई ३ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।

दृष्टिन्यूजले कुन कुन विषयमा जवाफ दिने हो, सो विषयमा अदालतबाट दृष्टि मिडियाको कार्यालयमा कुनै पत्र आइपुगेको छैन । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाको नाममा विशेष अदालतले उक्त आदेश दिएको हो । विशेष अदालतको इतिहासमा पहिलोपटक सबै न्यायाधीश सम्मिलित इजलास गठन गरेर दृष्टि मिडियालाई ३ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको घटनाले सिंगो सञ्चारमाध्यम तरंगित भएको छ ।

विशेष अदालतको यस निर्णयको सम्मान गर्दै कुन–कुन विषयलाई लिएर सम्मानित अदालतले तीन दिनभित्र जवाफ पेस गर्नु भनेको हो, अदालतको पत्र आएपछि ती विषयमा जवाफ दिने दृष्टिका सम्पादक शम्भु श्रेष्ठले बताए ।

समाचार लेखेकै भरमा अदालतले एकतर्फी आदेश दिनु उचित नभएको र सम्बन्धित मिडियालाई जानकारी नै नदिई निर्णय सुनाउनु न्यायालयको इतिहासमा आश्चर्यजनक घटना भएको सम्पादक श्रेष्ठको भनाइ छ ।

विशेष अदालतका कर्मचारीहरु नवराज सापकोटा, सागर भण्डारी, यज्ञराज रेग्मी, प्रमिला काफ्ले, गरिशा भट्टराईले दायर गरेको मुद्दाको दर्ता नम्बर ०८१–ओए–०५५७ रहेको छ । सो मुद्दा आज न्यायाधीशहरु अध्यक्ष टेकनारायण कुँवर,तेजनारायण सिंह राई, रामबहादुर थापा,मुरारीबाबु श्रेष्ठ,रितेन्द्र थापा, विदुर कोइरालाको इजलासमा पेशी चढेको थियो ।

दृष्टि साप्ताहिकले अख्तियारले गोदावरी नगरपालिकाको खानी दोहनदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको राष्ट्रिय भुक्तानी प्रणाली खरिदमा भएको अनियमिततामा विशेष अदालतले दिएको सफाइका बारेमा समाचार प्रकाशित गरेको थियो । दृष्टिले सम्मानित अदालतको अवहेलना गर्ने नियतले उक्त समाचार लेखेको नभई सुशासनको पक्षमा मात्र समाचार लेख्दै आएको कुरा जानकारी गराउँछौँ, सम्पादक श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्