काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल ललितपुर जिल्ला कमिटीले आज विज्ञप्ति प्रकाशित गरी दृष्टि साप्ताहिक, दृष्टि न्यूज डटकममा प्रकाशित समाचारलाई लिएर विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ, दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बा र दृष्टि मिडियालाई तीन दिनभित्र अदालतमा हाजिर हुन जारी गरेको आदेशप्रति समाजवादी प्रेस संगठन नेपाल ललितपुर जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका कावा सचिव सलोमी दाहालद्वारा आज जारी विज्ञप्तिमा ‘यो आदेशमात्र पत्रकारप्रतिको आक्रोश नभई, नेपाली प्रेस स्वतन्त्रता र नागरिकको सूचना पाउने अधिकारमाथिको खतरनाक हमला हो । भ्रष्टाचार, बिचौलिया र न्यायपालिकाभित्रका गम्भीर प्रश्न उठाउनु पत्रकारको धर्म हो, तर यही धर्म निर्वाह गर्ने पत्रकारलाई अदालती डाकपत्र थमाउनु, समाचार हटाउन दबाब दिनु र अभिव्यक्तिको कलममा ताल्चा लगाउन खोज्नु लोकतन्त्रकै जग हल्लाउने काम हो ।’
‘नेपालको पत्रकारिता इतिहासमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ पत्रकार श्रेष्ठ र सम्पादक सुब्बामाथि यसरी गरिएको व्यवहार निन्दनीय मात्र होइन, लोकतान्त्रिक मूल्य र संवैधानिक स्वतन्त्रतामाथिको प्रत्यक्ष हमला पनि हो । तीन दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने भन्दै दिइएको आदेश प्रेसमाथि अंकुश लगाउने नियतपूर्ण प्रयास हो । अझ विशेष अदालतको पूर्ण इजलासबाट आएको आदेशले प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रसमेत मिचेको स्पष्ट देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
समाजवादी प्रेस संगठन ललितपुर जिल्ला कमिटीले अन्यायपूर्ण आदेशको घोर विरोध गर्दै र निम्न मागहरू राखेको छ । पत्रकारहरूमाथि जारी गरिएको अदालतको आदेश तुरुन्त फिर्ता गरियोस्, समाचार सम्पादन र प्रकाशनका विषयमा अदालतले हस्तक्षेप गर्ने प्रवृत्ति तुरुन्त बन्द गरियोस्, संवैधानिक अंगहरूले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सक्रिय भूमिका निर्वाह गरून्, सञ्चारमाध्यमलाई भय, धम्की र कानुनी दवावमुक्त वातावरणमा काम गर्न पाउने सुनिश्चितता गरियोस् ।
