कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका लागि सञ्चालन गरिरहेको हस्ताक्षर अभियानमा राउटे समुदायका नागरिकहरूले पनि साथ दिएका छन् । शनिवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित हस्ताक्षर अभियानमा राउटे समुदायका तीन जना सहभागी भई हस्ताक्षर (ल्याप्चे) गरेका छन् ।

आर्थिक सहयोगको खोजीमा महेन्द्रनगर पुगेका राउटे समुदायका मुखिया प्रकाश शाही, प्रेम शाही र खगेन्द्र शाहीले रास्वपाको हस्ताक्षर अभियानमा सहभागिता जनाएका हुन् । रास्वपाको केन्द्रीय विज्ञान, सूचना तथा प्रविधि विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र महताले सामाजिक सञ्जाल फेसबुकमा राउटे समुदायले ल्याप्चे लगाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा उनले राउटे समुदायलाई हस्ताक्षर फारममा ल्याप्चे लगाउन सघाइरहेको देखिन्छ ।
महताले राउटे समुदायका सदस्यहरू केही पर्वका लागि महेन्द्रनगर आएका थिए । रवि लामिछानेको तस्बिर देखेपछि उनीहरू आफैँ सहभागी हुने इच्छा जनाएका थिए ।
रास्वपाले सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै देशभर र विदेशमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
यो अभियानमा राउटे समुदायको सहभागिताले अभियानको व्यापकता र समावेशीताको सन्देश दिएको रास्वपाका नेताहरूले बताएका छन्।