काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश स्तरबाट सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ । शनिवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले यो प्रस्ताव राखेका हुन् ।

‘बजेटमा पनि एसईई प्रदेशबाट सञ्चालन गर्ने उल्लेख छ । सीटीईभीटीमा भर्ना एसईईपछि हुन्छ । यदि एसईई हटाइयो भने सीटीईभीटीमा भर्ना प्रक्रिया कसरी अघि बढ्छ ?’ मन्त्री पन्तले भने, ‘सरकारको प्रस्तावअनुसार एसईईलाई प्रदेशबाट सञ्चालन गरौँ । यसले शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुर्याउँछ ।’
यद्यपि, मूल विद्यालय शिक्षा विधेयकमा एसईई समावेश गरिएको छैन । समितिको उपसमितिले पनि एसईई हटाउने सहमति गरेको छ ।