काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले साधारण फलाम नभई सिद्धान्त, विचार र सङ्गठनको स्पात भएको बताएका छन् । ‘एमाले किञ्चित तलमाथि हुँदैन, दर्शन ढुङ्गाले दाँत भाँच्न खोज्नेहरू असफल हुन्छन्,’ उनले भने । एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई तीन दशकदेखि सफलतापूर्वक कार्यान्वयन गरेको उनको दाबी छ ।

ओलीले एमालेविरुद्ध बारम्बार आरोपको खेती भएको बताउँदै पार्टी झुसे बारुलो नभई चिललाई लखेट्ने चिभे चराको जस्तो शक्तिशाली रहेको उल्लेख गरे । उनले विचार, उद्देश्य र सही नेतृत्वमा एमाले विश्व वामपन्थी आन्दोलनमा असाधारण शक्ति भएको दाबी गरे ।
पूर्वनेता मदन भण्डारीमाथि समेत चारित्रिक र झुटा आरोप लगाइएको स्मरण गर्दै ओलीले भने, ‘पार्टीलाई फुटाउन महाकाली सन्धिको नक्कली मुद्दा उठाइयो, तर एमाले राष्ट्रिय हित र स्वाधीनतामा सम्झौता गर्दैन ।’ उनले महाकाली सन्धि ठिक रहेको र पञ्चेश्वर परियोजना चाँडै पूरा हुने बताए । एमालेमाथिका सबै आरोप खण्डन गर्दै उनले पार्टी राष्ट्रिय हितप्रति अडिग रहेको र कुनै पनि आक्षेपलाई नसहने स्पष्ट पारे ।