काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफ्ना पति तथा नेकपा एमालेका मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारीलाई सम्झँदै भावुक बनेकी छिन् ।

मदन भण्डारी फाउन्डेसनले शनिवार राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले मदन भण्डारीको सपना साकार पार्न नेकपा एमालेका नेताहरूसँगै आफू पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको दुखद दुर्घटनाको प्रसङ्ग उल्लेख गर्दै भावुक हुँदै भनिन्, ‘मदनका सपनाहरूलाई साकार पार्ने दिशामा अग्रसर तपाईँहरूको साथमा म पनि सधैँ रहनेछु ।’ उनले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई जीवन्त राख्दै देश र जनताको समृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता दोहोर्याइन् ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा एमालेका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा मदन भण्डारीको योगदान र उनको सिद्धान्तको समसामयिक महत्त्वबारे पनि चर्चा गरिएको थियो ।