
काठमाडौं । अमेरिकाले सुडानमाथि प्रतिबन्ध लगाएको छ । गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा प्रतिबन्ध लगाएको हो ।
अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने उल्लेख छ ।
गत जनवरीमा सुडानको सेनाले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको समाचार प्रकाशित भएको थियो ।
नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँस जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ । खार्तूमले भने रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ ।
यद्यपि अमेरिकाले सुडानलाई लगाइएको प्रतिबन्ध अन्तर्गत अत्यावश्यक मानवीय सहायता र खाद्यान्न वा अन्य कृषिजन्य वस्तु वा उत्पादनबाहेकका सहायता बन्द गरिने जनाइएको छ ।
यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिनेछ किनभने ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितको लागि यो आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।
सन् २०२३ को अप्रिलमा सुडानका सेना र आरएसएफबीचको शक्ति संघर्षपूर्ण युद्धमा परिणत भएको थियो । यो गृहयुद्ध गरिब मुलुक सुडानका लागि अभिशाप बनेको छ ।