
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका युवा नेताहरु नेतृ रामकुमारी झाक्रीप्रति आक्रोशित बनेका छन् । शनिबार बुटवलको एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै झाक्रीले मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ भन्दै कडा अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिले पार्टी संस्थापन पक्षधर नेता–कार्यकर्ता सामाजिक सञ्जालमार्फत उनीप्रति आक्रोशित बनेका हुन् ।
झाक्रीले दिएको अभिव्यक्तिका सन्दर्भमा माथिल्लो तहका नेताहरू मौन रहँदा युवा तथा विद्यार्थी नेताहरू भने झाँक्रीविरुद्ध खनिएका हुन् । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष समेत रहेका युवा नेता सुदेश पराजुलीले उनको अभिव्यक्तिलाई ‘विक्षिप्त मानसिकताको पराकाष्टा’ भनेका छन् ।
सुदेशले लेखेका छन्, ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्टा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो । कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी यो मानसिकताको विशेष गुण हो ।’
उनले यस्तो मानसिकताको विश्वास गरेर मुर्ख बन्नु नहुने समेत बताएका छन् । नेकपा एसका पूर्वप्रचार विभाग सदस्य सूर्य बिसीले जनतासँग चुनाव हार्ने र पार्टीको महाधिवेशनमा पनि कार्यकर्तासँग हार्नेले ठूलो कुरा गर्ने ? भन्दै झाँक्रीप्रति आक्रोश पोखेका छन् । ‘पतञ्जलीको जग्गा बेच्ने दलाललाई कारबाही गर्नुको साटो माधव बाबुलाई फसाउन बदनाम गराउन खोजेको तिमीलाई थाहा छैन ?’, उनले लेखेका छन् ।
त्यस्तै नेकपा एसनिकट प्रेस संगठनका केन्द्रिय सदस्य दिपक अनुरागीले माधव नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्न झाँक्रीलाई चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘कमरेड रामकुमारी झाँक्री– पार्टी गठन यता तपाईंका अनेकौं तर्कना सुन्यौं । कमरेड तपाईंबाट पार्टी बन्दैन, बनेको पार्टीमा चर्का भाषण गर्ने आधार समाजवादीमा बनिसकेको छैन । त्यसो हुँदा जुनसुकै तर्कना तपाईंले गरेपनि समाजवादी पार्टी कमरेड माधवकुमार नेपाल बाहेक अरुले बनाउन सक्दैन । हजारौं समाजवादी कार्यकर्ताको मनोभावना जित्छु, लाखौं बाहिरी व्यक्तिको समर्थन पाउँछु भन्ठानेर माधवकुमार नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्नुस् ।’
त्यसैगरी, पार्टीकी पोलिटब्युरो सदस्य दिलु पन्तले पनि झाँक्रीको अभिव्यक्तिलाई स्टन्टको संज्ञा दिएकी छन् । अरुको सेता वस्त्रमा थुक्नुभन्दा आफ्नो मैलिएको मन धुन झाँक्रीलाई उनको सुझाव छ ।
उनले लेखेकी छन्, ‘आफ्नो नामको चर्चाका लागि बेलाबेलामा यस्ता स्टन्टहरू नेपाली राजनीतिमा केही वर्षयता केही मान्छेहरूको प्रोग्रामहरू चलिरहेकै छ । ती प्रोग्रामहरू आफ्नो करिअर निर्माणको खपतको कडी हो कि कसको लागि प्रायोजित हुन् दुनियाँले बुझेकै छ । अरुको सेता वस्त्रमा थुक्नुभन्दा आफ्नै मैलिएको मन धुने गरौं,’
साथै उनले झाक्रीलाई आकाशतिर फर्केर आजसम्म कति पटक आफैलाई थुक्यौं ? भन्दै प्रशन गरेकी छन् । उनले भनेकी छन्, ‘आकाशतिर फर्केर आजसम्म कति पटक थुक्यौ ? भन्नेले वाह र ताली पनि ठोके होलान् । यो चटकीले आफैंलाई थुक्ने तुच्छ कार्य गर्नलाई हिम्मत गरेको भनेर । नुहाउन मेलम्ची आइ सक्यो थुकले होइन पानीले नुहाउनुस् ।’
शनिबार नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले अर्ली महाधिवेशन गरेर नेतृत्व परिर्वन गर्नुपर्ने बताएकी थिइन् ।
यस्तो थियो झाक्रीको आक्रामक अभिव्यक्ति–
पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।