काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच सवाल–जवाफ भएको छ । आइतबार बसेको बैठकमा रास्वपाका सांसद डिपी अर्याल र कांग्रेसका सांसद रामहरि खतिवडाबीच तर्क–वितर्क भएको हो ।

रास्वपाका सांसद अर्यालले ‘चोर’ शब्द प्रयोग गरेपछि कांग्रेस सांसद खतिवडाले जवाफ फर्काएका थिए । अर्यालले मेहनत गरेर जीविकोपार्जन गर्नेहरूले चोरी गरेर खानेहरूलाई जवाफ दिनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘हामीले कस्तो समाज बनाएका छौँ ? यहाँ मेहनत गरेर खानेहरूले चोरी गरेर खानेहरूलाई जवाफ दिनुपर्ने बाध्यता छ ।’ उनले राजनीतिलाई पेसा बनाएर देशको दोहन गर्नेहरूले मेहनती र स्वच्छ पेसामा संलग्न व्यक्तिमाथि गम्भीर आरोप लगाउन नहिच्किचाएको बताए ।
जवाफमा, कांग्रेस सांसद खतिवडाले कुनै सांसदको नाम नलिई बोलेको स्पष्ट गर्दै ‘चोरको खुट्टा काट’ भन्दा केही सांसदले आफ्नो खुट्टा लुकाएजस्तो व्यवहार गरेको टिप्पणी गरे । उनले कुनै पनि संस्थामाथि छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरमा विरोध भएको भनी प्रश्न उठाए । साथै, आफू अदालतबाट निर्दोष ठहरिएर संसद्मा प्रवेश गरेको दाबी गरे ।