जनकपुरधाम । सिरहा प्रादेशिक अस्पतालमा चिकित्सकको लापरबाहीले एक बालकको मृत्यु भएको आरोपमा आफन्त र स्थानीयले अस्पतालमा तोडफोडको प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ । झडपमा ९ प्रहरीसहित १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका १० वर्षीय छोरा राजन महरालाई दुई दिनदेखि ज्वरो आएपछि आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो। तर, साँझ ५ बजे उनको मृत्यु भएको थियो ।
राजनकी ठूलीआमा सोभा महराले बालकलाई दूध र बिस्कुट खुवाएर अस्पताल ल्याइएको र चिकित्सकले सुई लगाए लगत्तै चिच्याउँदै उनको मृत्यु भएको बताइन् । चिकित्सकको बेवास्ता र लापरबाहीले मृत्यु भएको भन्दै परिवार र स्थानीयवासी आक्रोशित भएका थिए ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले झडप नियन्त्रण गर्न प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको बताए । आक्रोशित समूहले दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माग गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षा व्यवस्था कडा पारेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।