काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले देशका ६ स्थानमा सभा आयोजना गर्ने निर्णय गरेको छ । आइतबार लाजिम्पाटस्थित एक होटलमा भएको मोर्चाको बैठकले यो निर्णय गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जानकारी दिए ।

मोर्चाले साउन १७ गते काठमाडौं, २१ गते भैरहवा, २३ गते कैलाली, भदौ १६ गते विराटनगर, १८ गते जनकपुर र २० गते वीरगन्जमा सभा गर्ने भएको छ । बैठकले मोर्चाको कार्यविधि पनि पारित गरेको छ ।
बैठकमा रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा मोर्चाले साझा उम्मेदवार उठाउने सहमति भएको छ । नाउपाले विगतको निर्वाचनमा प्राप्त मतका आधारमा उम्मेदवार पाउनुपर्ने दाबी गरेको छ ।
नाउपाको प्रस्तावमा जनमत पार्टीबाहेक मोर्चामा आबद्ध ६ दलले सहमति जनाएका छन् । जनमत पार्टीले भने आफ्नै उम्मेदवार उठाउने अडान राखेको छ
बैठकमा नाउपाका संरक्षक रेशम चौधरीको अध्यक्षतामा जसपा नेपालका राजकिशोर यादव, मनिष सुमन, शर्मा, नाउपाबाट लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा, अनिल महासेठ, लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह सहभागी थिए ।
मोर्चाले आगामी दिनमा थप रणनीति बनाउँदै देशव्यापी सङ्गठन विस्तार र जनजागरणमा जोड दिने योजना बनाएको छ ।