Logo
Logo

अफताब आलमको मुद्दा पुनरावेदन गर्न माग


819
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमविरुद्धको ज्यान मुद्दामा उच्च अदालत वीरगञ्जको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गर्न माग गरेकी छिन् । उनले महान्यायाधिवक्ता कार्यालयलाई पत्र लेख्दै यो गम्भीर अपराधको मुद्दामा उचित न्याय सुनिश्चित गर्न ध्यानाकर्षण गराएकी छिन् ।

The current image has no alternative text. The file name is: sumana.gif

सांसद श्रेष्ठले पत्रमा उल्लेख गरेकी छिन्, ‘राजनीतिक प्रभावका कारण तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेका थिए। सर्वोच्च अदालतको आदेशपछि मात्र घटनाको एक दशकपछि मुद्दा दायर भएको थियो । तर, उच्च अदालत वीरगञ्जले अभियुक्तलाई सफाइ दिने अनपेक्षित फैसला गरेको छ । यो फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरी पीडितलाई न्याय दिलाउन जोडदार माग गर्छु ।’

उच्च अदालत वीरगञ्जले गत १४ जेठमा आलमलाई सफाइ दिएको थियो। उक्त फैसला गर्ने न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई न्याय परिषद्ले छानबिनका लागि तानेको छ ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो रात भएको घटनामा आलममाथि गम्भीर आरोप लागेको छ । आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोग छ । यो घटनाको १२ वर्षपछि २०७६ असोज १९ मा रौतहट प्रहरीले आलमलाई पक्राउ गरेको थियो ।

सांसद श्रेष्ठले पत्रमा यस्तो क्रूर अपराधका अभियुक्तलाई सफाइ दिने फैसलाले पीडित परिवार र आम जनतालाई मर्माहत र आक्रोशित बनाएको उल्लेख गरेकी छिन् । उनले महान्यायाधिवक्ता कार्यालयलाई यो मुद्दामा कडा कदम चालेर न्याय सुनिश्चित गर्न आग्रह गरेकी छिन् । यो घटनाले न्यायिक प्रक्रिया र राजनीतिक प्रभावबारे फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्