कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि लगातार भारी वर्षा भइरहेको छ । बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ । स्थानीय बासिन्दालाई सतर्क रहन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन् ।

कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ भने डडेल्धुराको जोगबुढा क्षेत्र, डोटी र कैलालीका चुरे पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालनमा छन् । नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले हालसम्म प्रदेशको कुनै स्थानमा ठुलो क्षति पुगेको खबर भने प्राप्त नभएको जनाएको छ । तैपनि वर्षाले थप प्रभाव पार्न सक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ । महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।