
काठमाडौं । भारी वर्षाका कारण धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् ।
धनगढीको मुख्य बजार क्षेत्र, शिवनगर, क्याम्पस रोड, रातोपुल, हसनपुर, तारानगर, शिक्षा टोल, श्रीलंका लगायतका बस्तीका कयौँ घरमा पानी पसेर जलमग्न भएको हो ।
निरन्तर वर्षाका कारण कहिल्यै डुबानमा नपरेको तारानगर क्षेत्र पनि जलमग्न भएको छ । यता धनगढी उपमहानगरको मुख्य सडक र आधा दर्जन भित्री सडक पनि जलमग्न भएका छन् ।
मुख्य सडकमा रहेका पसलहरूमा पनि पानी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीकाका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।
धनगढी बजारको वरिपरि भएर बग्ने मोहना नदीमा पानीको बहाब बढ्दै गएर तटीय क्षेत्रमा जोखिम बढेको उनले बताए ।














